०८ असार २०८३, सोमबार

टेलिकमले मनायो १९औं वार्षिकोत्सव, सेवालाई गुणस्तरीय बनाउन निर्देशन

टेलिकमले मनायो १९औं वार्षिकोत्सव, सेवालाई गुणस्तरीय बनाउन निर्देशन

नेपाल टेलिकमले स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन् । उनले भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमि अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरू, करसँग सम्बन्धित कार्यहरू लगायत सेवाहरू उपलब्ध गराइरहेको छ ।’ यी सेवाहरू निरन्तर सुलभ रूपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उनले इंगीत गरिन् ।

उनले अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित रूपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरू उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उल्लेख गर्दै उनले विकट स्थानका जनताले तिरेको मूल्यबाट संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुने गरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न निर्देशन दिइन् ।

मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधालाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता शेयरधनीलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि बताइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टि सर्वोपरि हुनुपर्ने बताए । ‘कम्पनीले सेवाहरू देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरू गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ,’ उनले भने । सेवाहरू निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजस्वमा थप बढोत्तरी हुने अर्यालले बताए । ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उनले उल्लेख गरे ।  

कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजस्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले नयाँ प्रविधिका रूपमा ईसीमको देशव्यापी वितरण गरिरहेको तथा भोवाईफाई सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारीस्वरूप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताए । उनले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पुर्‍याउन, भ्यालु एडेड सेवाहरूको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरूको शुरूआत पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गरे । नयाँ सेवाका रूपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी पनि दिए ।

कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी अफर’ उपलब्ध गराइएको छ । यस अन्तर्गत २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा ३  दिनका लागि ६ जीबी डाटा र ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा र अननेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ । यसैगरी २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा २ जीबी बोनस डाटा, दैनिक १ जीबी प्रयोग गर्न सकिने तथा ५०० वा सोभन्दा माथिको रिचार्जमा दैनिक २ जीबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । 

यी अफरहरू आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछन् । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फागुन २९ गते सम्मका लागि उपलब्ध गराइएको जनाइएको छ ।

वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, बसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्त्वपूर्ण सार्वजनिक स्थलहरू, वृद्धाश्रम र बाल आश्रमहरू, आमा समूहहरू, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरू रहेका पनि उनले बताए ।
     
कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरू र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मानपत्र र कम्पनीका विभिन्न सेवाहरू निशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षणको शुरूआत समेत गरिएको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीसँग कम्पनीको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्