
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लामा सहकारी नमूना गाउँ बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले साविक कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख रामसुरत पाल (गडरिया), सबइन्जिनीयर, सिजनशील कृषि सहकारी संस्थाका अध्यक्ष समेत ६ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘जिल्ला कृषि विकास कार्यालय हुम्लाबाट दिइएको अनुदान सिर्जनशील कृषि सहकारी संस्थाले हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक कृषि ज्ञान केन्द्र हुम्लाको आर्थिक वर्ष २०७५/०७६ को सहकारी नमूना गाउँ स्थापना तथा सञ्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोलादेखि बल्देकाध सिँचाइ कुलो निर्माण र सहकारी नमूना गाउँको जग्गा घेरबार कार्यमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको भनी झूटा बिल, भरपाई, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन बनाई ११ लाख २६ हजार ५२८ रुपैयाँ बढी भुक्तानी लिई/दिई आफूलाई गैरकानूनी लाभ पुर्याएको र प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्याएको पुष्टि भएको देखिएकाले उल्लिखित कसूरमा संलग्न देहाय बमोजिमका प्रतिवादीहरूलाई निम्नानुसार सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’