०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री एउटा हुने, देश अर्कोले चलाउन खोज्ने लक्षण देखिन लागेको छ : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री एउटा हुने, देश अर्कोले चलाउन खोज्ने लक्षण देखिन लागेको छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूला घटनाहरू हुने खतरा देखिएको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताए ।

उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सत्तारुढ दलका नेताहरू अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिएको बताए ।

सत्तारुढ दलहरूमध्ये नेकपा एमाले सबैभन्दा विचलित भएको उनको भनाई छ । उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकाले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे । 

उनले भने, ‘यो सरकार जुन ढंगले अगाडि बढिराखेको छ, अथवा यो सरकार जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल नै यति कमजोर र यति विरोधाभाषपूर्ण छ कि यो धरातलमा हुने कुरा यही हो, जे भइरहेको छ । एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । उहाँहरू यति ज्यादा अधैर्य, विचलित भएको जुन देखिएको छ केको लागि हुनुभएको छ भन्ने थाहा छैन । हिजो मैले संसदभित्र जुन रूप देखें । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । यो सरकारको सैद्धान्तिक धरातल पनि अत्यन्त कमजोर र विरोधाभाषपूर्ण छ । त्यसैमा के छ त भन्दा प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ नि त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ । यो सरकारको गतिविधिहरू र सत्ता समीकरणमा रहेका संलग्न भएका नेताहरूको अधैर्यता, प्रस्तुती, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरु अत्यन्तै आत्तिएका छन् । अत्तालिएका छन् । उहाँहरुको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’

प्रमुख सचेतक लेखकले कांग्रेसले सत्ता समीकरण परिवर्तन गरेर अर्को समीकरण बनाउन नखोजेको स्पष्ट पारे । आफूहरूले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति कांग्रेसकै लागि होला भन्ने आफूहरूको बुझाइ रहेको बताए ।

उनले भने, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समिकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ । त्यो कुरालाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौं । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

सोमवारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएको थियो । भेटलगत्तै सभापति देउवासँग भेट गरेका प्रमुख सचेतक लेखकले ३ नेताहरूबीच समसामयिक परिस्थितिबारे कुराकानी भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले दुवै जना नेताहरूलाई बोलाउनुभयो, समसामयिक परिस्थितिको बारेमा कुरा हो । त्यस्तो खासै केही कुरा छैन । नेताहरू भेटघाट भइराख्छ, भइरहनुपर्छ । राष्ट्रपतिको निर्वाचन आजको छलफलको विषय होइन । सामान्य समसामयिक विषयमा कुराकानी भएको होला नेताहरूका बीचमा । नेताहरूको बीचमा कुराकानी भयो, त्यो आफैंमा राम्रो पक्ष हो ।’ 

समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भए पनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उनको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्