
पुस १० गते नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा सहितका विषयमा केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
‘प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखलाई राखेर गर्नुभएको सीमा व्यवस्थापन र सुरक्षासम्बन्धी ब्रिफिङमा कांग्रेस सभापति र एमाले अध्यक्ष सहभागी हुनुभएको हो,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘यो ब्रिफिङमा सरोकारवाला मन्त्री, सुरक्षा प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।’
तिमल्सिनाले राष्ट्रपति चुनाव, सत्ता गठबन्धनको विषयमा कुराकानी नभएको दाबी गरे तर प्रधानमन्त्री निकट स्रोतका स्रोतका अनुसार ३ नेताबीच समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको छ ।
‘भन्नलाई सीमा व्यवस्थापन र राष्ट्रिय सुरक्षा सम्बन्धमा ब्रिफिङ भनिए पनि शीर्ष ३ दलका नेताबीच पनि संवाद भएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘विभिन्न विषयका विधेयक अड्किएका छन् । संसदलाई बिजनेश दिने विषयमा पनि संवाद भएको छ । अरु समसामयिक विषयमा पनि कुराकानी भएको बुझेका छौं ।’
प्रधानमन्त्री प्रचण्डले संसदको बिजनेशबारे सोमवार बालुवाटारमा दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका थिए ।
फागुन २५ गते राष्ट्रपति चुनाव आउँदै गरेकाले भेटलाई महत्त्वका साथ हेरिएको छ । नयाँ गठबन्धन बन्ने, कांग्रेसले विश्वासको मत दिने वातावरण भएपछि दलबीच आपसमै अनेक आशंका छन् । गठबन्धनको सहमति अनुसार राष्ट्रपति एमालेले लिने भन्ने छ तर पुस २५ गते कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि अवस्था फेरिएको छ ।
त्यसपछि माओवादीले राष्ट्रिय सहमति जुटाएर राष्ट्रपति चयन गर्नुपर्ने मत राख्दै आएको छ । कांग्रेसले पनि आफ्नो पक्षमा पार्न माओवादीको विश्वास जित्ने नीति लिएको छ । यहीबेला संसदका प्रमुख ३ दलका नेताबीचको भेट हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।