बाँकेको नरैनापुर गाँउपालिकामा आउन नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् । नरैनापुर गाँउपालिकाले ३ करोड रुपैयाँको लागतमा रोसनपूर्वाको रोड निर्माण शुरु गरेपछि स्थानीयहरु अहिले भारतीय बाटो हिड्ने बाध्यता हट्ने भन्दै खुशी भएका छन् ।
गाउँपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाउँका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउन वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताए ।
रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाउँपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी नजिर खाँले बताए ।
वर्षौपछि गाउँपालिकाले बाटोको निर्माण शुरु गरेपछि स्थानीयहरु उत्साहित बनेका छन् । स्थानीय नजिर खाँले भने, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएन्न, नियमित रुपमा लगाइने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चित थियो । अब रोड बनेपछि सहजता आउनेछ ।”
६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले नरैनापुर गाउँपालिकासँग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निर्माण शुरु गरिएको बताए । अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निर्माण शुरु भएको बताए । पाँच महिनाभित्र सडक निर्माणको काम सम्पन्न गरिने उनले जनाए । रोसनपुर्वा गाउँमा ६ सय घरधुरी रहेको छ ।