धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला भएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।
उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्रहत्या गर्न खोजिएको आरोप लगाए । आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भएमा कानूनअनुसार कारबाही भोग्न तयार हुने उनले बताए । उनले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताए । आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको उनको भनाइ छ ।
बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी उनले गरे । नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमतिजस्ता कागजात नभएको दाबी उनले गरे ।
समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने पनि उनले प्रतिवद्धता जनाए । बार्डले जे गरेपनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको उनको भनाइ छ । हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने उनको भनाइ छ । उनले लगानीकर्ताको हितका लागि बोर्डले जस्तोसुकै शाहसिक निर्णय लिन तयार रहेको बताए ।
बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताए । उनले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आइपीओ निस्कासन अनुमति पाइरहेको बताए ।
उनले १० महिनामा यतिधेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहनु उचित नभएको बताए ।