राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपीएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।
दुवै टोलीले सोमवार भएको प्रतिस्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिस्पर्धामा एपीएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो । डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो । चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको छ ।
यससँगै न्यु डायमण्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । उता एक खेल अगावै फाइनलमा पुगेको एपीएफको ६ अंक भयो । एपीएफ दोस्रो स्थानमा अटाएको हो । यसैबीच शुरुवाती दुई खेलमध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमवार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो ।
त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो । अब यी दुई टोलीबीच आज मंगलवार तेस्रो स्थानको छिनोफानोका लागि प्रतिस्पर्धा हुनेछ । उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लवबीच मंगलवार नै प्रतिस्पर्धा हुनेछ ।