
उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सांसद चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे आफूलाई जानकारी नभएको भन्दै मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । उनका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ ।
मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने ठहर गर्दै माघ २९ गते पेशी तोकिएको छ । २९ गते छलफलका लागि दुवै पक्षलाई बोलाइएको सूचना अधिकारी नेगीले जानकारी दिए ।
१३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख बढी रूपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । सोही मुद्दामा प्रहरीले कैलाली २ का सांसद चौधरीलाई केही दिनअघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा छन् ।