
टर्की र सिरियामा मंगलबार पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार ३ पटक गएको भूकम्पका कारण दुवै देशका धेरै शहर ध्वस्त भएका छन् ।
२४ घण्टा बितिसक्दा पनि यहाँ शव ल्याउने क्रम जारी छ । ठूला भवनहरूको भग्नावशेषमुनि अझै पनि मानिसहरूको खोजी भइरहेको छ।
टर्कीको सानलिउर्फा प्रान्तमा एक महिलालाई २२ घण्टापछि जिउँदै उद्धार गरिएको छ।
उद्धार टोलीले ती महिलालाई अचेत अवस्थामा फेला पारेको थियो ।
सिरियाको एलेप्पोमा भवनको छाना काटेर मानिसहरुलाई बाहिर निकालिएको छ । दुवै देशका धेरै शहरमा यस्ता दृश्यहरू देखिएका छन्।
दुवै देशमा गरी हालसम्म ४३०० भन्दा बढीको मृत्यु भइसकेको बीबीसले जनाएको छ।
हजारौं मानिस अझै पनि भग्नावशेषमुनि दबिएका हुन सक्ने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
टर्कीमा २ हजार ९२१ जनाको मृत्यु भएको भने १५ हजारभन्दा बढी घाइते भएका छन् । सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका समाचाहरूमा जनाइएका छन्।