
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन्।
मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन्।
उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताइन्।
मन्त्री शर्माले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन । त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन । उहाँहरूले सरकार छोड्नुभयो, उहाँहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो। हामी यो गठबन्धनलाई बचाउन र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउन प्रयत्नशील छौँ ।'
मन्त्री शर्माले कृषकहरूले तरकारी फालेर विरोध जनाइरहेका बारेमा सरकारको ध्यानाकर्षण भएको बताइन्।
उनले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा जुन ग्यापलाई समाधान गर्ने बारेमा छलफल भएको बताइन्।
उनले किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्नेबारे पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको बताइन्।