२१ जेठ २०८३, बिहीबार

सत्यवती एकेडेमी र लिटल फ्लावर स्कुल विजयी

सत्यवती एकेडेमी र लिटल फ्लावर स्कुल विजयी

कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।  

मंगलबारको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित गर्‍यो। सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९.३ ओभरमा ८ विकेट गुमाएर भेटायो।

सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रन योगदान दिए। प्लेयर अफ द म्याच घोषित जोशीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै, इमरान शेखले २८, प्रतिक श्रेष्ठले २० रन बनाए। सैनिकका बलर रवीन्द्र कार्की र सागर चन्दले दुई दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १४० रन बनायो। विशाल ऐरले सर्वाधिक ६४ रन बनाए जुन क्रममा उनले ४१ बलमा ९ चौका प्रहार गरे। सन्दीप बिस्टले २९ तथा कप्तान अनुराग सिंहले २१ रन बनाए। सत्यवतीका बलर प्रतिक श्रेष्ठले २ तथा अभिषेक कोइराला र सोनु अन्सारीले एक एक विकेट लिए।

मंगलबारनै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित गर्‍यो। लिटल फ्लावरले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा गुराँस एकेडेमीले ११.४ ओभरमा ६९ रन बनाउँदा सबै विकेट गुमायो। 

लिटल फ्लावरका बलर अनुराग सिंह एक्लैले ५ विकेट लिए जुन क्रममा उनले २.४ ओभरमा ११ रन खर्चिए। अनुराग प्लेयर अफ द म्याच घोषित भए। सुबोध तिवारीले २ तथा रोशन रावल र सार्थक बमले एक एक विकेट लिए।  गुराँस एकेडेमीका सचिन साउदले २६ तथा विशाल बिस्टले २२ रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १५२ रन बनायो। 

लिटल फ्लावरको लागि नरेन भट्टले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा ५१ बलमा ८ चौका प्रहार गरे। वसन्तसिंह कार्कीले ३१ तथा कप्तान विपिन रावलले २७ रनको योगदान दिए। तेस्रो विकेटको लागि नरेन र वसन्तले ८३ रनको साझेदारी गरे। गुराँस एकेडेमीका बलर रभी बिस्टले २ विकेट लिए। 

प्रतियोगिता अन्तर्गत पाँचौँ दिन आज बुधवार दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा दिउँसो १ बजे नव बालबाटिका र होली फेमिली स्कुल प्रतिस्पर्धा गर्नेछन्। 

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बालवाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ.सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०-१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्