
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बस्दैछ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान राखेपछि सत्ता साझेदार दलले सो दललाई फकाउने प्रयास जारी राखेका छन् । सो दलले विश्वासको मत नदिएमा मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त हुनेछैन ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो दलको माग पूरा नभएसम्म सुदूरपश्चिममा विश्वासको मत नदिने बताए पनि सो दलले आधिकारिक रुपमा विश्वासको मत नदिने निर्णय भने गरेको छैन । दलका नेताहरुबीच छलफल जारी रहेकाले अन्तिम समयसम्म सो दलले विश्वासको मत दिने विश्वास मुख्यमन्त्री रावललाई छ । नेकपा (एमाले) को तर्फबाट रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।