३१ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

प्रचण्डमाथि दबाब बढाउँदै ओली, रास्वपालाई फेरि सरकारमा सहभागी गराउन पहल

प्रचण्डमाथि दबाब बढाउँदै ओली, रास्वपालाई फेरि सरकारमा सहभागी गराउन पहल

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।  बालुवाटारमा मंगलबार भएको भेटवार्ता राष्ट्रपति चुनाव, रास्वपाका मन्त्री फिर्ता, सरकार सञ्चालनसहितका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

‘राष्ट्रपति चुनाव, रास्वपाका मन्त्रीहरूको राजीनामापछिको अवस्था, सरकार सञ्चालनसहितका विषयमा कुराकानी भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली सशंकित छन् । प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहँदा ओलीले दबाब बढाउनका लागि एकदुई दिन बिराएर प्रचण्डसँग भेटिरहेका छन् ।
००००
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ । 
अभिवक्ता युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् । 

लामिछानेले तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (क) विपरीत गतिविधि गरेकाले पाँच वर्ष कैद र हदैसम्म जरिमाना गर्नेगरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ ।
००००
सत्ता साझेदार दलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न गरिरहेको छ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी हुन् ।
मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन् ।
उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताइन् । 
००००
सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार उक्त रिट निवेदन खोरज गरेको हो । अदालतको पूर्णपाठ भने तयारी गर्न बाँकी छ ।
००००
सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि परेका वर्गका लागि आरक्षण दिनुपर्ने विषयमा आगामी आर्थिक वर्षमा पूर्ति हुने सिट निर्धारण गर्न परमादेश गरेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिएको निर्देशन र गरेको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। 
प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो।

प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ। नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।
००००
जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् ।
बाराको कलैयामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेस केन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए ।
००००
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गरेकी छन् । 
मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचीका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको  छ ।
००००
नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा कार्कीले तीन हजार पाँच सय ३७ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए ।
००००
काठमाडौंमा वर्डफ्लु पुष्टि भएपछि तीन वटा फर्मका कुखुरा र अण्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । यसअघि ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा बर्डफ्लू पुष्टि भएको थियो  ।
००००
सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार र तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको बताइन् । 

भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गत संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औं बैठकमा भाग लिन ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्। 
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
००००
सांसदहरूले प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिहरूका नाम र कार्यक्षेत्र पुनर्संरचना गरी प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन् । 
समितिका निर्देशन कार्यान्वयन महत्वपूर्ण पक्ष भएकाले कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने संयन्त्र व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा नेपाली कांग्रेसकी सांसद सीता गुरुङले संसदीय समिति नाम, क्षेत्राधिकार पुनर्संरचना गरी आवश्यक केही संख्या बढाउनु प्रस्ताव गरिन्।
००००
१ नम्बर प्रदेशसभा बैठक २ दिन चलेर पुनः स्थगित भएको छ । सरकारले बिजनेश दिन नसक्दा २ दिन चलेर संसद् बैठक स्थगन गरिएको हो ।
००००
शेयर बजारमा उछाल आएको छ । मंगलबार शेयर बजारको मापक सूचक नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ । बजार एकै दिन ३.६५ प्रतिशतले बढेर २१ सय ७७.३४ विन्दुमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्