
आइतवार साँझदेखि सञ्चार जगतको ‘चरित्रबारे’ जबरजस्त प्रवेश गरेको एउटा बहसले समाजलाई २ ध्रुवमा विभाजन गरेको छ । जुन बहसले नेपाली मिडिया समाजको ऐना हो कि होइन भन्ने प्रश्न समाजमा छ्यालब्याल गरिदिएको छ ।
सर्वसाधारणमा यसको सोझो बुझाइ – नेपाली मिडियाले ऐनामा आफ्नो अनुहारको दाग किन देख्दैन ?
समाजमा मिडियाले खेल्ने भूमिकाका सम्बन्धमा आ–आफ्ना बुझाइ फरक–फरक छन् । त्यसैले भन्ने गरिन्छ, ‘मिडियाले जब भीडको कुरामा विश्वास गर्छ, त्यसले समाज खण्डित गर्नेबाहेक अर्को काम गर्दैन ।’ अहिले सञ्चार सम्बन्धी जसरी बहस चलाइएको छ, त्यहीँ भीडका कुरामा विश्वास गर्ने पात्रबाटै भएको छ ।
हिजो सञ्चारकर्म गर्दा यस्तै भीडका पछि लागेका । पत्रकारिताको सामान्य आचारसंहिता, ऐन–कानूनभन्दा पनि समाजभन्दा फरक हुँ भन्ने शैलीबाट उदाएका नेताबाट नेपाली सञ्चार जगतलाई प्रश्न गरिएको छ । परम्परागत शैलीमा चलेका दलबाट प्रगति हुन्न भन्ने निष्कर्षमा पुगेका, नयाँबाट केही हुन्छ भन्ने नयाँ पुस्तालाई भविष्यको सपना देखाउन ती भीडले केही हदसम्म उत्साहित बनाउला । यद्यपि त्यस्ता भीडकारिताबाट गरिने पत्रकारिता र पस्किने सस्ता सामग्री र त्यसैको आधारमा बनाइने जबरजस्त विचारले समाजलाई खण्डित र सांस्कृतिक विचलनबाहेक अरू केही गर्दैन ।
आफूले सञ्चारकर्म गर्दा उठाएका प्रश्न आफैंतिर आउँछ भन्ने हेक्का नराख्नु र आलोचनाबाट भाग्न खोज्नुले दीर्घकालीन राजनीतिक यात्रा लामो देखाउँदैन । यी पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘मूलधार’का सञ्चार माध्यम र त्यसका सञ्चालक तथा सम्पादकहरूमाथि आइतवार जसरी लाञ्छना लगाउने काम गरे, त्यो सिंगो ‘प्रेस स्वतन्त्रता’ माथिको हमला हो । यो एजेन्डामा ‘फलानो सम्पादक, फलानो पत्रिका, अनलाइनलाई रविले ठीक भन्यो र गर्यो’ भन्ने तर्क गरिन्छ भने त्यो समाजका लागि अर्को अराजकताको बिजारोपण हो ।
हिजोका दिनमा सञ्चारकर्म गरिरहँदा ‘सिसाको घर’मा बसेको छु भन्ने हेक्का नराख्दाको परिणाम अन्ततः अहिले सतहमा आएको छ । समाजमा विसंगति, बेथिति, नातावाद, कृपावाद, भ्रष्टाचार व्याप्त छन् । ती विषयलाई जनमानसमा प्रसार गर्नु, भीडबाट स्याबासी पाउनु एउटा पक्ष हो । ती व्याप्त विसंगतिलाई नियन्त्रण गर्ने ऐन, कानून र निकायलाई ‘छायाँ’मा पार्ने गरी ‘मिडिया’का नामबाट राजनीति गर्छु भन्ने जुन अवधारणाबाट रवि उदाए त्यसको परिणाम अन्ततः छोटै समयमा गलत सावित भएको छ ।
पत्रकारिता र राजनीतिक श्रेष्ठताबाट प्राप्त सार्वजनिक पद नितान्त फरक हो । सञ्चारकर्म र राजनीतिक यात्राको असहज बाटो छुट्याउन नसक्नु वैचारिक विचलन हो । टेलिभिजनको पर्दामा उफ्रिएर, सामाजिक सञ्जालको कमेन्ट र लाइकको भरथेगमा राजनीतिको यात्रा योभन्दा टाढा जान सक्दैन । राजनीतिमा वैकल्पिक विचार दिनुपर्छ, युवा पुस्ता राजनीतिमा प्रवेश गर्न इच्छुक छन् भन्ने सन्देशलाई बलियोसँग संस्थागत गर्न नसक्नु रास्वपाको गम्भीर भूल हो । रविको यो शुरूआत हो, अझै व्यावहारिक पक्ष हेर्न धेरै बाँकी छ ।
मिडिया समाजप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ भन्ने सर्वव्यापी मान्यता हो । मिडियाका कन्टेन्ट जब योभन्दा पर जान खोज्छ प्रश्न उठ्छ । यो प्रश्नप्रति उत्तरदायी र जवाफदेही पत्रकारिताका सम्बन्धमा म्याक्वेलको भनाई मननयोग्य छ । ‘पारदर्शिता र जवाफदेहिताको प्रबर्द्धन गर्नु नै मिडियाको मुख्य काम भएकाले मिडियामा पनि बहुलता, विविधता, सम्पादकीय स्वतन्त्रता, समुचित लगानी, जवाफदेहिता र पारदर्शिताको आवश्यकता हुन्छ,’ म्याक्वेलले भनेका छन् ।
राजनीति र राज्य सत्ताले पत्रकारितालाई कुन रूपमा लिन्छ भन्ने बुझाइलाई राजनीतिज्ञहरूले बुझ्न पनि उत्तिकै खाँचो छ । टामस पेनको मुद्दामा – टामस अरशिन्सले भनेका छन्, ‘हर एक युगमा शासकहरूले भन्ने गरेका छन् । आफ्नो मतले सरकार आफूलाई सर्वदा पूर्ण सम्झन्छ तर स्वतन्त्र समाचारपत्रहरू सरकारको कर्मप्रति आँखा अर्थात् निगरानी राखी उसको भूल पक्रिरहन्छन् र जनताले सरकारलाई ठीक पार्दछन् । आज हाम्रो सरकार जस्तो छ त्यस्तो, उसलाई प्रेस स्वतन्त्रताले नै बनाएको हो । अन्ततः प्रेस स्वतन्त्रताले नै उसको रक्षा गर्न सक्छ ।’
सञ्चारमाध्यमप्रति समाजको दृष्टिकोण
‘पत्रकार शिकायतखोर, टीकाकार, सल्लाहकार, बादशाहका प्रतिनिधि र राष्ट्रका शिक्षक हुन्छन् । ४ वटा विरोधी पत्रिका ४ हजार संगीनभन्दा पनि बढी डर लाग्दो हुन्छ,’ नेपोलियनको यो कथनले राजनीतिबाट शक्ति आर्जन गरेका शासकका लागि पत्रकारिताले कतिसम्म खबरदारी गर्दो रहेछ भन्ने महत्त्वलाई थप उजागर गरेको छ ।
रोमन सम्राट जुलियस सिजरले इसापूर्व ५९ मा ‘एक्टा डिउर्ना’बाट सञ्चारमाध्यम शुरू गरे । नेपालमा संवत् १९५५ तिरबाट मात्रै शुरू भयो । व्यावसायिक पत्रकारिता बीसौं शताब्दीको उत्तरार्द्धबाट प्रयोगमा आएको इतिहास छ । नेपाली पत्रकारिताको विकास ‘सेमी प्रजातन्त्रकाल’ २००७–२०१७ को समयावधि कोशेढुंगा सावित भएको छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि व्यावसायिक रूपमै सञ्चारमाध्यको ‘स्वर्णिम युग’भन्दा फरक पर्दैन । २०६२/६३ को जनआन्दोलन भाग २ सम्म आइपुग्दा सञ्चारमाध्यम समाज परिवर्तनको एउटा हिस्सा नै बन्यो ।
सञ्चार जगतका अनेकौं उज्याला पाटा छन् । मूल कानूनले दिएको पूर्ण प्रेस स्वतन्त्रताको निर्वाध उपयोग भएको छ । प्रेस स्वतन्त्रतालाई कुन, ठाउँ, विचार, व्यापारमा प्रयोग गरियो भन्ने प्रश्न लामिछानेको तर्कले प्रश्न उठाएको हो । यो प्रश्नको जवाफ सीधा छ, तीव्रत्तोर भूमण्डलीकरणका कारण सञ्चारका आयामले रूप बदलेको छ । सूचना र आमसञ्चारका माध्यम यतिखेर कसको हातमा छ भन्ने प्रश्न गर्ने ठाउँ छैन । सञ्चारमाध्यम तिनैसँग छ, जसको हातमा स्रोत र शक्ति छ ।
अमेरिकी चिन्तक नोम चम्स्कीले आउट लूक म्यागेजिनको नोभेम्बर १, २०१० अंकको अन्तर्वार्तामा उदारवादको उपयोगबारे गजबको तर्क गरेका छन् । उनले भनेका छन्, ‘इराक आक्रमणको घोषणा हुनासाथ मिडियाले सरकारको प्रोपोगान्डा एजेन्सी (प्रचार संस्था) का रूपमा काम गर्न थालिहाल्यो । भियतनाम युद्धमै पनि यस्तै भएको थियो । अहिले मिडियालाई उदार किन भनियो ? किनभने बाराक ओबामा उदार छन् ।’
नेपाली सञ्चारमाध्यमप्रति पञ्चायत निर्मम नै रह्यो । २०४६ सालपछि पूर्व राजा ज्ञानेन्द्र शाहीकालमा सबैभन्दा बढी आक्रमण गरियो । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछिका दिनमा कुनै पनि शासक मिडियाप्रति उदार देखिएको इतिहास छैन । पछिल्लो पटक नयाँ उदाएका राजनीतिक दलका नेता पूर्व सञ्चारकर्मी लामिछानेको हिजोका दिनमा गरिएका पत्रकारिता शैली र अहिलेको विचारले समाज बिखण्डितबाहेक अरु केही गरेको छैन ।
अहिले सतहमा आएका बहसले लामिछाने प्रेस स्वतन्त्रताप्रति पूर्ण अनुदारमध्ये अर्को एक शासक थपिएका मात्रै हुन् । अहिलेसम्मको इतिहास जो मिडियाप्रति असहिष्णु छ, उसको पतनबाहेक देखिएको छैन । यो सत्यलाई रास्वपाले बेलैमा सिंहावलोकन गर्न जरुरी छ ।
‘द टाईम्स अफ इन्डिया’ पत्रिकाका प्रकाशक समीर जैनले आफ्नो अनुभवमा भनेका छन्, ‘अब जनताको पीर, मर्का र उनीहरूको समस्या बुझेर उत्तरदायी पत्रकारिता गर्ने सम्पादकको कुनै जरुरत छैन । बजारको चाहना बुझेर अपराध, यौन र बलिउड बेच्न जान्ने मार्केटिङ विशेषज्ञको सेवा मात्र चाहिएको छ ।’
दक्षिणी छिमेकी मुलुकको यो पत्रकारिताभन्दा नेपाली सञ्चारमाध्यम धेरै टाढा छैनौं । यद्यपि यसलाई ‘करेक्सन’ गर्ने ठाउँ छन् । यसका लागि मूलधारका सञ्चारमाध्यम, सञ्चालक, सम्पादकीय नेतृत्व बहसका लागि खुला हुन जरुरी छ ।
पत्रकारिताका अग्रज पी खरेलले समाजप्रति पत्रकारिता उत्तरदायी र जवाफदेहिताबारे भनेका छन्, ‘विश्वका अन्य सफल देशमा समेत सञ्चारगृहबीच विचार आदानप्रदान गर्नुपर्ने आवश्यक छ ।’ नेपाली मिडिया बजार र पत्रकारिता पेशाको भविष्यप्रति गम्भीर चासो दिएर खरेलले जिनर ग्रस (सन् २००५) को भनाई उदृत गरेका छन्, ‘आधुनिक वस्तुनिष्ठ पत्रकारितामा पूर्वाग्रह सुटुक्क प्रवेश गर्दछ र यो अवस्था सर्वाधिक प्रतिष्ठित समाचार प्रकाशन गृह र प्रसारकमा पनि छ ।’
मिडियाका सञ्चालकहरू वा उत्पादनकर्ताहरूको समिति समूह वा वर्गका चाहना र आर्थिक स्वार्थ मात्र अगाडि बढाउने माध्यम मिडिया मानिँदैन । जुन धारमा पाठक, दर्शक, श्रोताले तिनको पाचन समय, ठाउँ, वर्ग, लिङ्ग, पेशा तथा अनुभव हेरेर गर्छन् । बहुलतामा आधारित समाज र सक्रिय पाठक, दर्शक, श्रोताले योभन्दा फरक सोच्न सक्दैनन् ।
बहुलता, समावेशिता, समानुपातिक, धर्मनिरपेक्ष, संघीयता, गणतन्त्र, पूर्ण प्रेस स्वतन्त्रता जस्ता विषय लोकतन्त्रका सुन्दर गहना हुन्, जुन व्यवस्था मूल कानूनमै गरिएको छ । त्यसविरुद्ध जाने जो कोहीको पक्षमा उभिन सक्ने कल्पना गर्न सकिन्न । राजनीति दर्शन, सिद्धान्त, कार्यनीति, कार्यदिशा आदर्श, योगदानको आधारमा समाजलाई अघि बढाउने माध्यम हो । पत्रकारिता निष्ठाको पेशा हो । निष्ठाको पेशा गर्दाका अपुष्ट सूचनाका आधारमा रिस, आवेश पोख्नुले कदापी समृद्ध समाज निर्माणको परिकल्पना गर्न सकिन्न । मात्रै रास्वपाको मूल नेतृत्वलाई ‘... राम–राम भन्न सकिन्छ । काँध थाप्न सकिन्न’ !