
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन्।
भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएकी छन्।
उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन्।
दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम छ ।
स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन्।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन्। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेटस्तरकी उच्च अधिकारीसमेत हुन्।