
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गणतन्त्र र राष्ट्रपति आफ्नै एजेन्डा भए पनि राष्ट्रपतिकै कारण आफूले पटक–पटक सास्ती व्यहोर्नुपरेको संकेत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफू धेरै सोचविचार गरेर मात्र अगाडि बढ्ने मनस्थितिमा रहेको प्रस्ट पारेका छन् ।
भावी राष्ट्रपति सबैलाई मान्य हुने खालको साझा व्यक्ति चाहिने भन्दै त्यसका लागि माहोल बनाउन उनले पार्टी पंक्तिलाई अपिल गरेका हुन् । माओवादी केन्द्रीय कमिटीको बिहीवारको भर्चुअल बैठकमा प्रचण्डले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
पछिल्लो समय राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाउँदै आएका प्रचण्डले दलका नेतालाई फेरि यो पदमा ल्याउँदाको जोखिमबारे लामो व्याख्या गरेका थिए ।
पार्टीको आन्तरिक विषयमा व्याख्या गरेपछि अन्तिममा प्रचण्ड राष्ट्रपति चुनावमा केन्द्रित भएका थिए ।
उनले, ‘राष्ट्रपतिमा तपाईंहरूलाई चासो होला, यसैले मेरो कुरा ध्यानपूर्वक सुन्नुहोला,’ भन्दै सदस्यको ध्यानाकर्षण गराएको माओवादी स्रोत बताउँछ ।
लामो व्याख्या गर्दै उनले आफूले कसरी दुःख झेल्नुर्पयो भनेर सुनाएका थिए । प्रचण्ड पूर्वसहमति भएको भनिएपनि सजिलै एमालेलाई राष्ट्रपति दिन तयार देखिँदैनन् । उसो त प्रचण्डले कांग्रेससँग पनि निरन्तर छलफल गर्दै आएका छन् ।
००००
राष्ट्रपतिमा कचिंगल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि लोसपा अध्यक्ष बालकोट पुगेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठक सकिएलगत्तै संसद भवनबाट ओलीसँगै महन्थ ओलीको निवास गएका हुन् । ओलीकै गाडी चढेर महन्थ बालकोट पुगेका हुन् । बालकोटमा ओलीले राष्ट्रपति निर्वाचनमा महन्थको साथ मागेका थिए । जवाफमा ठाकुरले पार्टीभित्र छलफल गर्ने बताएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्।
शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए।
००००
प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरूले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अदालतको कार्यसम्पादनप्रति संसय व्यक्त गरेका छन्।
जनताका लागि आवश्यक ऐन निर्माण गर्ने जिम्मेवारी पाएर विधायकी भूमिकामा रहेका सांसदद्वयले फौजदारी अभियोग लागेर फरार रहेका, पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्वन गर्न नहुने आफ्नो तर्कलाई सदर गराउने प्रयासमा न्यायलयको कार्यसम्पादन माथि संशय प्रकट गरेका हुन् ।
००००
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले निर्वाचन आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ ।
स्थानीय तहको निर्वाचनमा भाग लिएका १ लाख २३ हजार बढी उम्मेदवारहरूले निर्वाचनमा गरेको खर्च विवरण समय सीमाभित्र बुझाउन नसक्दा आयोगले भदौ ३१ मा हदैसम्म जरिवाना र निर्णय गरेको थियो।
उक्त मितिदेखि लागू हुनेगरी ६ वर्षसम्म निर्वाचनमा भाग लिनबाट वञ्चित हुने गरी आयोगले रोक लगाएको थियो।
आयोगको उक्त निर्णयविरुद्ध तराई–मधेश लोकतान्त्रिक पार्टीका स्थानीय तहमा उम्मेदवार रहेका विभा ठाकुर, ईश्वर पण्डित, बिन्दु ठाकुर, भगिरथ लाल, अनवर राइन, शुहैल अहमदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
००००
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्।
शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरूलाई स्थापित दलहरूलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए। शुक्रबारदेखि सुरु भएको विवेकशीलको महाधिवेशनको उद्घाटन सत्रमा राउतसहित विभिन्न दलका प्रतिनिधिको सहभागिता थियो ।
नयाँ नेतृत्व चयन गर्दै विवेकशील साझाको महाधिवेशन सकिने जनाइएको छ । यसैबीच विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन्।
००००
शुक्रबार शपथ लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री नियुक्त गरेका छन्।
भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका हुन्।
००००
प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह घाइते भएका छन्।
शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन्।
संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । यसैबीच चिकित्सक संघले विज्ञप्तिमार्फत घटनाको विरोध गरेको छ ।
००००
विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच शुक्रबार पार्टी एकताको विषयमा छलफल भएको हो ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाबारे परिपत्र जारी गरेको छ । बिहीबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सबै मन्त्रालय, आयोग र सचिवालयलाई प्रचलित कानुनबमोजिम मात्र सरुवा, कामकाज र जिम्मेवारी तोक्न आग्रह गरिएको छ ।
००००
नेपाल प्रहरीमा कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल १ सय ३७ जनाको लागि नयाँ भर्ना खुलेको छ ।
भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई(बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आह्वान गरेको प्रहरीले जनाएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले सम्बोधनमा आफ्नो कार्यकालमा भएका कामहरूका बारेमा सदनलाई जानकारी गराएकी छन्।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ ।
गैरकानूनी लाभ लिने उद्देश्यले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग कुराकानी गरेको अडियो प्राप्त भएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट उनलाई निलम्बन गर्ने र अनुसन्धान गर्ने गरी प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको हो ।
००००
नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको १५ सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरूको १५ सय मेगावाटसम्मको पीपीए गर्ने निर्णय गरेको छ ।
००००
सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।
मेडिकल अधिकृत र बिरामीबीच भएको विवादमा मेसु डा देवराज घिमिरे मौन बसेको भन्दै मेडिकल अधिकृतले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् ।
००००
बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने व्यवस्था थियो । तर नेपाल राष्ट्र बैंकले बिहीबार ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा परिमार्जन गर्दै संस्थागत मुद्दती निक्षेप कम्तीमा छ महिनाका लागि हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । व्यक्तिगततर्फको मुद्दती निक्षेप भने तीन महिनाका लागि पनि राख्न पाइनेछ ।
यसैबीच नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि सार्वजनिक गरेको छ ।