२६ असार २०८३, शुक्रबार
भ्युज बढाउन सकेनन् चलेका कलाकारले

कलाकारको नामले चल्छन् म्युजिक भिडियो ?

माघ २८, २०७९
कलाकारको नामले चल्छन् म्युजिक भिडियो ?

कुनै समय चर्चित गायक/गायिकाले स्वर दिएपछि ती गीतहरू प्रायः चल्थे । फलानो गायक/गायिकाले गाएको गीत भनेर चर्चा हुन्थ्यो ।

चलेका मोडलहरूलाई अभिनय गराउँदा अझ चर्चा बढ्थ्यो । उनीहरूको नामले भिडियोको यूट्युब भ्युजमा फाइदा पुर्‍याउँथ्यो ।

लगानीकर्ताहरू पनि चलेका कलाकारलाई भिडियोमा खेलाउन मरिहत्ते गर्दथे । त्यो क्रम अहिले पनि जारी छ । 

यद्यपि अहिले चर्चित कलाकारहरूको नामले भिडियो चल्ने अवस्था देखिँदैन । कलाकारको नामले भिडियो चल्ने अवस्था अहिले नरहेको स्वयं निर्देशकहरू बताउँछन् । 

नाम चलेका कलाकारहरूका थुप्रै म्युजिक भिडियो भेटिन्छन्, जसले यूट्युबमा १ लाख पनि भ्युज पाएका छैनन् । चलेका कलाकारका कतिपय भिडियोले उनीहरूले लिएको पारिश्रमिक जति पनि भ्युज नपाएको देखिन्छ ।

यता कतिपय नाम नचलेका कलाकारहरूको भिडियोले पनि यूट्युबमा राम्रो भ्युज पाइरहेका हुन्छन् । 

निर्देशक निकेश खड्का अहिले कलाकारहरूको नामले भिडियो चल्ने अवस्था नरहेको बताउँछन् । ‘अहिले कुनै कलाकारहरूको नामले भिडियो चलेको अवस्था देखिँदैन,’ उनले लोकान्तरसँग भने, ‘अलि अगाडिसम्म राम्रो च्यानलबाट भिडियो आउँदा भ्युज केही राम्रो जान्थ्यो, अहिले त्यो माहोल पनि देखिँदैन । टिकटकमा अलि चलिदिएको गीतको भने यूट्युबमा भ्युज बढिरहेको देखिन्छ । नत्र भने समग्रमा भिडियोको भ्युज खासै गइरहेको छैन ।’

यो अभिनेता वा अभिनेत्री, त्यो मोडलको भनेर अहिले भिडियो चल्ने अवस्था नरहेको उनले दाबी गरे ।

हिट चलचित्रकी अभिनेत्री उपासनासिंह ठकुरी हालसालै पहिलोपटक म्युजिक भिडियोमा देखिइन् । यद्यपि उनको पहिलो म्युजिक भिडियोले यूट्युबमा १ लाख पनि भ्युज पाउन सकेको छैन । 

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीको अभिनय रहेको पछिल्लो गीत ‘यो मुलाइ मस्किन्छे’ले पनि यूट्युबमा राम्रो भ्युज पाउन सकेन । 

‘उपासनाले खेलेको भिडियोको भ्युज खास्सै गएन । अस्ति निश्चल बस्नेत दाइहरूले गरेको भिडियो पनि चलेन,’ निर्देशक खड्काले भने, ‘म्युजिक भिडियो धेरै आएर हो कि किन हो ? चलिरहेका छैनन् । अहिले भिडियो चल्ने पनि कम र बन्ने पनि कम भएको छ ।’ 

अर्का निर्देशक काजिश श्रेष्ठ पनि खड्काको कुरामा सहमत छन् । उनी कलाकारहरूको नामबाट भिडियोको भ्युजलाई फाइदा पुर्‍याउने अवस्था नदेखिएको हुनाले पछिल्लो समय लगानीकर्ताहरू समेत हिच्किच्याइरहेका बताउँछन् ।

‘जोसुकै चलेको कलाकारलाई लिँदा लगानी सुरक्षित हुन्छ भन्ने अवस्था अहिले देखिएन । सोही कारण अहिले जोकोहीले खुलेर लगानी गरिरहेका छैनन्,’ श्रेष्ठले भने । 

गत वर्षसम्म कलाकारहरूको नामले भिडियोको भ्युजलाई फाइदा पुर्‍याउँथ्यो । अभिनेता पल शाहले अभिनय गरेका अधिकांश भिडियोले यूट्युबमा राम्रो भ्युज पाउने गरेको श्रेष्ठले स्मरण गरे ।

‘पलजीको गीतले राम्रो भ्युज पाउँदा लगानीकर्ताहरू हौसिन्थे, उनीहरूले एकपछि अर्को भिडियोमा लगानी गर्थे,’ श्रेष्ठले भने, ‘अहिले त्यो खालको कोही मोडल देखिएनन् ।’

राम्रो अडियो छ भने भिडियोमा जोकोही कलाकारलाई खेलाउँदा पनि हुने अवस्था अहिले रहेको उनले बताए । पहिले राम्रो अडियोको भिडियो बनाउँदा त्यसमा चलेको कलाकार लिँदा भ्युजमा निकै फाइदा पुर्‍याउने गरेको उनले स्मरण गरे । 

‘सर्वप्रथम अडियो बलियो हुनुपर्‍यो । यो कलाकार राख्दा भ्युज धेरै जान्छ भन्ने अवस्था रहेन,’ स्पष्ट पार्दै उनले भने, ‘टिकटकबाट आएका नयाँ कलाकार खेलाउँदा पनि कतिपय भिडियोले राम्रो भ्युज पाइरहेका छन् । स्टार भनिएका कलाकार खेलाउँदा पनि कतिपय भिडियोको भ्युज लाजमर्दो छ ।’

salt training

कमेन्ट गर्नुहोस्