०७ असार २०८३, आइतबार

आयोगको कार्यालय इटहरीले मनायो ३२ औँ स्थापना दिवस

आयोगको कार्यालय इटहरीले मनायो ३२ औँ स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले ३२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।  स्थापना दिवसको अवसरमा शनिबार कार्यालय प्रमुख (सहसचिव) तीर्थराज चिलुवालको अध्यक्षतामा ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ एक कार्यक्रम सम्पन्न गरिएको छ । 

कार्यालयको सभाहलमा भएको  उक्त कार्यक्रममा आयोगको कार्यालय इटहरीको कार्यक्षेत्रभित्र रहेका कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक निवन्ध प्रतियोगितामा गरिएको थियो ।  प्रतियोगितामा सुनसरीको बराह क्षेत्रस्थित श्री जगन्नाथ डेडराज जनता माविमा कक्षा ९ मा अध्ययनरत छात्रा कन्चन पौडेल प्रथम भइन् । 

उनले प्रमाणपत्रसहित १२ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा मोरङको श्री बालकल्याण विद्या मन्दिर उमाविमा कक्षा १२ मा अध्ययनरत छात्रा अनुष्का रेग्मी दोस्रो र श्री कवि शिरोमणि मावि झापामा कक्षा ११ मा अध्ययनरत उषा निरौला तेस्रो भए । उनीहरुले क्रमशः ९ हजार र ७ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । 

त्यसै गरी कार्यालयमा कार्यरत कर्मचारीहरुबीच सम्पन्न भएका विभिन्न विधाका खेलकुद प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने अर्धवार्षिक अवधिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको उपसचिव निरज कुमार देवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै कार्यालयमा लामो समयदेखि कार्यरत लगनशील कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी  नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानको समन्वय र सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । 

कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीलाई उपसचिव देवले अख्तियारको स्थापनाको औचित्य, यसको प्रभावकारिता र हालसम्म सम्पादन भएका कार्यहरूको विषयमा स्पष्ट पारेका थिए । 

उपसचिव देवले आयोगको स्थापनाको औचित्यबारे धारणा राख्दै स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा रहेको आयोगले निर्भीकताका साथ तटस्थ भएर कार्य गर्दै आएको बताए । उनले भ्रष्टाचारका प्रकृति र प्रवृत्तिका स्वरूप फेरिएका सन्दर्भ उल्लेख गर्दै भ्रष्टाचार अनुभूति सूचाकांकको प्रतिवेदन अनुसार नेपालमा अझै भ्रष्टाचारको भयावह अवस्था रहेको बताए । 

उनले भ्रष्टाचारजन्य कार्य गर्ने उपर निर्मम रूपमा छानबिन तथा अनुसन्धान गरिरहेको बताउँदै अझै पनि सेवा प्रवाहको अवस्था गुनासो रहित हुन नसकेको, सार्वजनिक स्रोतको परिचालनमा व्यापक अनियमितता हुने गरेको, विकास व्यवस्थापनको प्रक्रियामा सङ्गठित रूपमा अनियमितता बढेको र गुणस्तर खस्किँदै गएको बताए ।  यस्ता कार्यमा नियन्त्रण र खबरदारी गर्न सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । 

यस्तै कार्यक्रमको समापन गर्दै कार्यालयका प्रमुख चिलुवालले पुरस्कृत तथा सम्मानित हुने सम्पूर्ण कर्मचारीहरू तथा विद्यार्थीहरूलाई बधाई एवं धन्यवाद दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । 

आयोगको कार्यालय इटहरीमा गत वर्ष कुल उजुरी २०२४ वटा रहेकोमा १०८० वटा फर्छ्यौट भएका छन् । यस्तै ९४४ वटा उजुरी फर्छ्यौटका क्रममा रहेका छन् भने चालू वर्षको प्रथम ६ महिनाको अवधिसम्ममा १६३३ उजुरी रहेकोमा ६७४ वटा फर्छ्यौट भइसकेका छन्। कार्यालयले  भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्