
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले वर्तमान सरकार गठन गर्ने क्रममा पुस १० गते भएको सहमतिमा सत्तासाझेदार दल कायमै रहेको दाबी गरेका छन् ।
राष्ट्रपति निर्वाचनलाई लिएर बाहिर आएका कुरा भ्रमपूर्ण रहेको उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले राष्ट्रपति निर्वाचनबारे बाहिर आएका कुरा भ्रमपूर्ण रहेको बताएका हुन् ।
‘सरकारका काम कारबाहीको समीक्षा र कहाँ कमजोरी रह्यो भन्ने विषयमा कुराकानी भयो । गठबन्धनलाई आगामी दिनमा अझ मजबुत ढंगले लैजाने सहमति भएको छ । आगामी दिनमा अझ धेरै छलफल गर्छौं,’ लिङ्देनले भने, ‘बाहिर आएका कुरा भ्रमपूर्ण छन् । यो सरकार गठन गर्दा भएको सहमतिमा कुनै विमति छैन । सहमतिमा परिवर्तन गर्नुपर्यो भने छलफलबाटै हुन्छ ।’
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने, राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको एमाले नेताहरूको भनाइ छ ।
आइतवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देन सहभागी थिए ।