
राष्ट्रपति विद्या भण्डारीको सवारीका क्रममा सडकमा एम्बुलेन्स र स्कुल बस रोकिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारीको नाममा सर्वसाधारणलाई सास्ती दिइएकोमा विरोध जनाएका हुन् ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका रामहरि खतिवडाले प्रश्न गरे,‘राष्ट्रपतिको अस्तव्यस्त सवारी कहिले अन्त्य हुने ? डाक्टरले उपचार गर्न जान नपाउने ? बिरामी उपचार गर्न जान नपाउने ? विद्यार्थीले पिसाब गर्न जान नपाउने अवस्थाको अन्त्य सरकारले गरोस् ।’
कांग्रेसकै मुक्ता यादवले पनि राष्ट्रपतिको सवारीका नाममा सवारी जाम गरिएको भन्दै विरोध जनाएकी थिइन् ।
त्यसअघि सांसद रघुजी पन्तले पनि राष्ट्रपतिको सवारी जामले सांसदहरूले लज्जाबोध गर्नुपर्ने अवस्था आएको आशय व्यक्त गरेका थिए।