
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक नरहेको बताएका छन् । आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।
नेपाल राष्ट्र बैंक पुँजी बजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजी बजारप्रति राष्ट्र बैंक नकारात्मक नभएको बताए । गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वभाविक भएको बताए । पुँजी बजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजी बजारलाई नियन्त्रण र अनुगमन गर्ने उनको भनाइ छ ।
राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको उनले स्पष्ट पारे । नेपाली पुँजी बजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थालाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने उनले बताए । राष्ट्र बैंकको इच्छाअनुसार पुँजी बजारलाई असर पर्ने नीति नलिएको बताए ।
राष्ट्र बैंक अन्य बैंकहरुसँग भएको पँुजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेगरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको उनले बताए । शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन उनले आग्रह गरे ।