काठमाडौं, ७ भदौ ।
टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को तेस्रो राष्ट्रिय टुरगाइड सम्मेलन सम्पन्न भएको छ । चार बुँदे घोषणापत्र जारी गर्दै मंगलबार कमलादीस्थित सिडब्लु पार्टी हलमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा टुर्गानका अध्यक्ष नगेन्द्र चन्दद्वारा प्रस्तुत घोषणा पत्रमा टुरिष्ट गाइडहरुको पेशालाई सम्मानित र मर्यादित तुल्याउन राज्यस्तरबाट पहल गरिनुपर्ने, टुरिष्ट गाइडहरुको समयसापेक्षित पारिश्रमिक वृद्धि गर्नुपर्ने, पर्यटन क्षेत्रमा हुने अवैध गाइडिङलाई रोक्नका लागि लाइसेन्स् चेकिङलाई सशक्त बनाउनुपर्ने, हरेक पर्यटकीय गन्तव्यहरुमा टुर्गानको शाखा विस्तार गर्ने जसको लागि पोखरा च्याप्टरको तयारी भइरहेको लगायतका बुँदाहरु समेटिएको छ ।
सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै मन्त्री देवले आफ्नो कार्यकालमा धेरै नै योजनालाई अघि बढाएको र सोचेको भन्दा बढी काम गर्ने प्रतिबद्वता जनाए । उनले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल र भैरहवाको निजगढ विमानस्थललाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाइरहेको पनि बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट)का अध्यक्ष दीपक महत, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)का अध्यक्ष कमल सापकोटा, नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्साल, टुर्गानका पूर्व–अध्यक्ष हरेराम बराललगायतले आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा विभिन्न विधाबाट पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यवसायी तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।