जेठ ६, २०८०
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...
फागुन ६, २०७९
काठमाडौं ओमबहालका माधवभक्त माथेमाले शहरी योजनामा राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् । त्यसैले शहरी योजनाविद्का रूपमा उनको नामका अगाडि विशेषण थपिने गर्छ ।
२०२९ सालमा सुर्खेत उपत्यका आएर उनले हातैले तयार गरेको ३३ पेज लामो गुरुयोजना तत्कालीन राजा वीरेन्द्रदेखि सुर्खेतवासीले मन पराएका थिए । अहिले पनि त्यो गुरुयोजनालाई ‘उत्कृष्ट’ भन्दै सबैले तारिफ गर्ने गर्छन् । आफैंले बनाएको गुरुयोजना कार्यान्वयन गर्न माथेमाले काठमाडौंको सुखसुविधा मोह नगरी झण्डै १५ वर्ष सुर्खेतमा बसेर अनेक संघर्ष गरे । त्यही गुरुयोजनाकै जगमा अहिले वीरेन्द्रनगर क्षेत्रीय सदरमुकाम हुँदै प्रदेश राजधानीको विकासपथमा अघि बढिरहेको छ ।
गुरुयोजना सम्बन्धी एक सार्वजनिक मन्थनमा सहभागी हुन ३५ वर्षपछि सुर्खेत आएका वीरेन्द्रनगरका योजनाकार माथेमाको त्यो बेलाको सुर्खेत यात्रा, गुरुयोजना निर्माणदेखि कार्यान्वयन गर्दासम्मको नालीबेला यस्तो छ –
काठमाडौंको कुलिन माथेमा परिवार राणाहरूकै छत्रछायाँमा हुर्किरहेको थियो । माधवभक्त माथेमाका हजुरबुवा आदिभक्त माथेमा राणाकालकै सुब्बा थिए । आदिभक्तका छोराहरू थिए – धर्मभक्त, धु्रवभक्त माथेमा । जब आदिभक्तका जेठा छोरा धर्मभक्तले राणा शासनविरुद्ध जेहाद छेडे, तब माथेमा परिवार राणाहरूको निसानामा पर्यो ।
विक्रम संवत् १९९७ सालमा राजद्रोहको कसूरमा धर्मभक्तले मृत्युदण्ड मात्र पाएनन्, काठमाडौंको कुलिन परिवार भारतको कोलकत्तामा निर्वासित हुनुपर्यो । धर्मभक्तले राणाशासनविरुद्ध अभियान चलाएपछि चन्द्र शमशेरले सम्पत्ति नियन्त्रणमा लिएर निर्वासित हुन बाध्य पारेका थिए । कोलकत्ता हुँदै धु्रवभक्त दार्जिलिङको कालिम्पोङतर्फ लागे । त्यहाँ २००१ फागुन ४ गते माधवभक्तको जन्म भयो ।
विक्रम संवत् २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि राजा त्रिभुवनले माथेमा परिवारलाई फिर्ता बोलाए । राणाहरूले हडपेको सम्पति फिर्ता गराए । त्रिभुवनकै निमन्त्रणामा २००९ सालमा माथेमा परिवार कालिम्पोङबाट घर फर्कियो । काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयमा एकैपटक माधवभक्त ४ कक्षामा भर्ना भए । १४ वर्षको उमेरमा एसएलसी उत्तीर्ण भई कोलकत्ताबाट प्लानिङ विषयमा स्नातक पढे । स्नातक सकेर काठमाडौं फर्किएपछि ५ वर्ष आवास मन्त्रालय अन्तर्गतको भवन विभागमा काम गरे । त्यहाँ काम गर्दागर्दै असाधारण बिदा लिएर उनी छात्रवृत्तिमा मास्टर्स पढ्न अमेरिका हानिए ।
सन् १९७१ मा शहरी योजना (अर्वन प्लानिङ) मा मास्टर्स गरे । त्यसपछि फर्किएर आवास मन्त्रालयमै काम गर्न थाले ।
उत्कृष्ट गुरुयोजना
नेपालमा राजा वीरेन्द्रले पहिलोपल्ट क्षेत्रीय विकासको अवधारणा ल्याउँदै मुलुकलाई ४ विकास क्षेत्रमा बाँड्ने काम गरे । उनको सोचलाई साकार पार्न भूगोलविद् डा. हर्क गुरुङले योजना आयोगमा बसेर खाका तयार पारे । राजा वीरेन्द्र त्यसअघि नै सुर्खेत आएर फर्किसकेका थिए । उपत्यकाको नाम उतिबेलै राजाले ‘वीरेन्द्रनगर’ भनी नामकरण गरिसकेका थिए ।
राजदरबारको निर्देशनमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र सुर्खेत उपत्यकामा रहने गरी शहरी विकासको गुरुयोजना बनाउने तयारी थालियो । त्यतिबेला चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२) लागू भइरहेको थियो । योजनामा सुर्खेत उपत्यकाको गुरुयोजना बनाउने र पाँचौं पञ्चवर्षीय योजना (२०३२–३७) मा क्षेत्रीय सदरमुकामको शहरी विकास गुरुयोजनालाई कार्यान्वयन गर्ने उल्लेख थियो । आवास मन्त्रालय अन्तर्गतको भवन विभागले सिनियर प्लानरका रूपमा खटाएको थियो इन्जिनीयर माधवभक्त माथेमालाई । उनै माथेमा नेतृत्वको कार्यदलले बनाएको वीरेन्द्रनगर गुरुयोजना पछिल्ला दशकमा शहरी विकासको कोशेढुंगा मानिन्छ ।
२०२९ सालमा गुरुयोजना बनाएका माथेमाले झण्डै १३ वर्ष सुर्खेतमा बसेर गुरुयोजना कार्यान्वयन गर्न मेहनत गरे । राजादेखि जनतासम्मले मन पराएको वीरेन्द्रनगरको गुरुयोजना र विकासको प्रसंग आउँदा अहिले पनि उनलाई सबैले उत्तिकै श्रद्धा गर्ने गर्छन् ।
सुर्खेत पत्ता लगाउन डा. हर्क गुरुङसँग भेट
भवन विभागले उनलाई सुर्खेत खटायो । उनलाई सुर्खेत कहाँ छ भन्ने थाहा थिएन । अहिलेजस्तो गूगल थिएन । काठमाडौंबाट आउने सडक थिएन । भारतको दिल्ली हुँदै आउनुपर्थ्यो । ‘सुर्खेतको लोकेसन पत्ता लगाउन डा. हर्क गुरुङलाई भेट्न उनको निवासमा पुगें, पश्चिमतिर जाऊ भन्नुभयो, यूएनडीपीको १ जना पाइलटसँगै २०२९ सालको मध्यतिर सुर्खेत आएँ,’ माथेमा भन्छन्, ‘पिलाटस पोर्टर नामको ४–५ जना अट्ने सिंगल इन्जिन भएको सानो जहाज थियो, त्यही चढेर काठमाडौंबाट डेढ घण्टामा ३ जनाको टीमसहित सुर्खेत आएको हुँ ।’
विमानस्थल भएको क्षेत्रको खाल्डोमा खुला आकाशमुनि सुतेको स्मरण गर्छन् । ‘खानेकुरा किनेर खानलाई पसल थिएनन्, काठमाडौं घरबाटै खानेकुरा बोकेर ल्याउने गर्थें,’ उनले भने । पछि ट्वीनटर जहाजले २ हप्ताको एकपटक काठमाडौं–सुर्खेत फ्लाइट गर्थ्यो । बाहिरी जिल्लासँग कनेक्टिभिटी थिएन । उर्बराशक्ति भए पनि खडेरीले २०२९ सालतिर भोकमरी थियो ।
‘गुरुयोजनाकै कामको सिलसिलामा हामीले घरधुरी, मानिसको संख्या, जाति, समुदाय, सरकारी कार्यालय लगायतको सर्भे गरेका थियौं, त्यसबेला उपत्यकामा १६ हजार जनसंख्या थियो,’ माथेमा भन्छन्, ‘दोस्रोपटक आउँदा दिल्ली हुँदै आएँ । ब्रिटिश सरकारले बनाएको ‘सर्भे अफ द इन्डिया म्याप’का आधारमा वीरेन्द्रनगरको गुरुयोजनाको खाका कोर्न थाल्यौं । नक्सामा नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, भारत, बर्माको नक्सा समेटिएको थियो । सन् १९१६ देखि १९४७ सम्मको अवधि लगाएर ब्रिटिस सरकारले बनाएको थियो त्यो नक्सा । नगर योजनालाई साकार पार्ने हो भने सुर्खेत उपत्यकाको पूरै नापी नक्सा भएको हुनुपर्छ भन्यौं । मागेको २ वर्षपछि नापी विभागले नक्सा उपलब्ध गराएको थियो ।’
२० मिनेटको ब्रिफिङ रातभर चल्यो
विक्रम संवत् २०२९ माघमा राजा वीरेन्द्रको सवारी भयो । माथेमाका अनुसार सुर्खेतमै राजाको समुपस्थितिमा क्याबिनेट बसेको थियो । प्रधानमन्त्री कीर्तिनिधि विष्टसहित सबै मन्त्रीहरू सुर्खेत उपत्यकामा बनाइएको क्याम्पमा आइसकेका थिए । क्याबिनेटमा गुरुयोजना प्रस्तुतीकरण गर्न उनलाई २० मिनेटको समय दिइएको थियो तर गहल छलफल, तर्क–वितर्क गर्दा साँझ साढे ६ बजेदेखि शुरू भएको बैठक बिहान साढे २ बजे मात्र सकिएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्याले गज्जबका प्रश्नहरू सोधेका थिए, त्यसरी नै बैठक रातभर लम्बियो । ‘वीरेन्द्रनगरको शहरी विकास गर्न लागत कति लाग्छ, कहिले सकिन्छ ? छिटो शहरी विकास गर्न पाए हुन्थ्यो भन्ने कुरामा राजाको बढी सरोकार थियो,’ उनी भन्छन्, ‘त्यही भएर हाम्रो टीमलाई राजाले खुबै विश्वास गरेका थिए, राजाले हामीलाई विश्वास गरेको अरु कर्मचारीलाई मन परेको थिएन, राजाको सामुन्ने केही भन्न नसके पनि मन्त्रालयबाट असहयोग हुने गरेको थियो ।’
माधवभक्त नेतृत्वको टीममा भूगोलविद् प्रद्युम्न भट्टराई, विभूतिमान सिंह र मदनमान ताम्राकार थिए । २०२९ माघमा टीमले वीरेन्द्रनगर नगर विकास योजना तयार गरेको थियो । ‘ठूलो सेतो कागजमा हातले कोरेर गुरुयोजना बनाएका थियौं, अक्षर मैंले अंगे्रजीमा लेखेको थिएँ, नेपाली भाषा राम्रोसँग लेख्न आउँथेन,’ उनी भन्छन्, ‘बाटाघाटा, पूर्व पश्चिम उत्तर दक्षिण दिशा हेरेर प्लानिङको काम अघि बढाएका थियौं । योजनामा इत्रामदेखि खोर्के खोलासम्म र उत्तरपट्टि बजार विकास गर्ने, अहिलेको राजमार्ग क्षेत्र त्यतिबेला मासिन हिँड्ने बाटो थियो । त्यो क्षेत्रदेखि दक्षिणतिर खेतीयोग्य जमिनका लागि छुट्याइएको थियो । अहिलेका सरकारी कार्यालय भएका भवनहरू, सार्वजनिक जग्गा, विमानस्थल, खुलामञ्च, घण्टाघर बुलबुले, देउतीबज्यै परिसर फराकिलो बनाउन निजी जग्गा अधिग्रहण गरिएको थियो । खोर्के खोलादेखि एयरपोर्टसम्म स्थानीयसँग मिलेर २५–३० वर्षपछिको भिजनलाई प्रक्षेपण गरेर प्लानिङ गरिएको उनी बताउँछन् ।
रानी ऐश्वर्यासँगको त्यो नोकझोक
सुर्खेतमा बसेको क्याबिनेटले स्वीकृत गरेको नगर विकास योजनालाई कार्यान्वयन गर्न राजदरबारबाट ऐन जारी भयो । त्यसपछि नगर विकास योजना अघि बढेको हो । माथेमाले २०२९ सालदेखि १५ वर्षसम्म सुर्खेतमा बसेर गुरुयोजना निर्माणदेखि पुनरावलोकन गर्ने, जग्गा अधिग्रहण गर्ने, स्थानीयसँग मिलेर शहरी विकासको कामको कुशल नेतृत्व गरेका थिए । राजाले काम चाँडो गर भनेर आदेश दिए पनि कामको तारतम्य मिलाउन गाह्रो भएको उनी सम्झिन्छन् । क्षेत्रीय विकासको परिभाषित उद्देश्य झल्किने गरी काम गर्नुपर्ने, पूर्वाधारको विकास, सामुदायिक विकासको परिकल्पना गर्दै शहरी विकासका सबै कामहरू गर्नुपर्ने दायित्व माथेमाकै काँधमा थियो । गुरुयोजनामा बाटो, सहायक बाटो, खुलास्थान, पार्क, उद्यान, मन्दिर, निजी जग्गामा प्लानिङ गर्न कार्यदल गठन गरिएको थियो । ‘कुनै बेला समूह छलफल गरिन्थ्यो । मेरो जग्गा धेरै गयो भनेर गुनासो आउँथ्यो, पब्लिकहरू रिसाउँथे । चित्त दुखाउँथे । सम्झाइबुझाई गर्न कम्ती सजिलो थिएन । स्थानीयबाट अधिग्रहण गरेर पछि बस्ती बसाउन नगर विकासले नै आवास क्षेत्र तोकेर घडेरी बिक्री गरेको थियो,’ उनले भने ।
‘अस्पताल बजार क्षेत्रमा राख्नुपर्छ’ भनेर रानी ऐश्वर्याले भन्दा माथेमाले अलि बाहिर राख्नुपर्छ भन्ने तर्क अघि सारेका थिए । त्यसपछि रानी रिसाएकी थिइन् । ‘स्थानीयको जग्गा धेरै अधिग्रहण गरेर मर्का नपरौं, अलि टाढाको क्षेत्रमा अस्पताल राखौं भन्ने मेरो भनाइ थियो,’ उनी भन्छन् । माथेमाको रानीसँग बुलबुलेको जग्गा अधिग्रहणमा पनि विवाद भएको थियो । शुरूमा १० बिगाहा अधिग्रहण गरिएको थियो । पछि थप १० बिगाहा अधिग्रहण गर्नुपर्यो भन्ने कुरा रानीबाट आउँदा उनले मानेका थिएनन् ।
‘१५ बिगाहा जग्गामा विकास गर्न सकेका छैनौं, किन थप जग्गा चाहियो भन्ने मेरो भनाई थियो,’ रानी ऐश्वर्यासँगको नोकझोेंक सम्झिँदै उनी भन्छन्, ‘त्यतिबेला रानीसँग विवाद गर्नु चानचुने थिएन तर मैले गर्नुपर्यो, मेरो काम देखेर त्यो विवादलाई राजारानीले इगोको रूपमा लिएनन्, उल्टै स्याबासी दिए ।’
त्यतिबेला बुलबुलेमा पानीको मूल मात्र थियो । ताल, पोखरी, उद्यान सबैपछि बनाइएको हो । भारतको लखनउबाट रुख र रुख रोप्ने मानिस ल्याएर उद्यान बनाइएको थियो । बजारमा रुख जोगाउन पनि धेरै मेहनत गरिएको थियो ।
गुरुयोजना नभेटिँदा दुःखी
३३ पेज लामो निकै दुःख गरेर बनाएको गुरुयोजना सरकारी निकायले सुरक्षित नराख्दा माथेमा निकै दुःखी छन् । उनी भन्छन्, ‘भवन विभागलाई बुझाएको हुँ, दुर्भाग्य नेपालका सरकारी अभिलेख प्रणाली व्यवस्थित छैनन्, भेटिएन, मैले १५ वर्ष लगाएर गरेको काम अन्त्यमा आफैंले भेट्टाउन सकिनँ ।’
उनले राजदरबार, आवास मन्त्रालय र भवन विभागलाई गुरुयोजना हस्तान्तरण गरेका थिए । वरिष्ठ इन्जिनीयर माथेमाले सन् १९९२ मा आवास मन्त्रालयको सहसचिव (प्राविधिक) पदबाट अवकाश पाएका थिए ।
सरकारी सेवामा अवकाशपछि संयुक्त राष्ट्र संघीय निकाय ह्याभिटाटमा जापान, केन्या, नेपाल लगायतका देशमा बसेर काम गरेका थिए । यूएन हेभिटाटको मुख्यालयमा रहेर उनले ३२ देशको प्लानिङ, प्रोगाम, पोलिसी अफिसरको रूपमा काम गरे । सन् २००७ मा अवकाश हुँदा उनी कायममुकायम डाइरेक्टर थिए ।
सन् १९८८ मा पूर्वी नेपाललाई केन्द्रविन्दु बनाएर गएको ६.९ रेक्टर स्केलको भूकम्पपछि पुनर्निर्माणमा उनको ठूलो योगदान छ । त्यो भूकम्पमा ७२१ मानिसको मृत्यु, ६५ हजार घर तथा १५ हजार स्कूल भत्किएका थिए । त्यसको पुनर्निर्माणको योजनाका लागि नेपाल सरकारले विशेष अधिकृतको रूपमा त्यतिबेला माथेमालाई नै खटाएको थियो । उनले पुनर्निर्माणको डिजाइन, स्रोत संकलनको नेतृत्व गरेका थिए ।
भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण कार्यक्रम सफलतापछि सयुंक्त राष्ट्रसंघले उनलाई उत्कृष्ट अवार्ड प्रदान गरेको थियो ।
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापालाई सांकेतिक भाषा सिक्न उत्प्रेरित गर्यो । अपाङ्ग...
‘सगरमाथाबाट झर्दै थिएँ । खुम्बु आइसफलभन्दा माथि म एक्कासि चिप्लिएँ । तल खस्दै थिएँ । आफ्नै अगाडि एउटा शव देखेर झसंग भएँ । पछि पो थाहा भयो, म त्यही शवमा अड्किएर बाँचेको रहेछु । झन् डर लाग्यो । तै पनि सम्ह...
बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो...
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे । शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...
आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...