
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सरसफाइका लागि झाडु लिएर पशुपतिनाथ मन्दिर परिसरमा पुगेका छन् ।
शिवरात्रिका दिन भक्तजनहरूले छाडेको फोहोर सफा गर्नका लागि राप्रपा काठमाडौं क्षेत्र नं १ को आयोजनामा मिश्र आइतवार पशुपति मन्दिर परिसर पुगेका हुन् ।
उनले मन्दिर परिसरमा फोहोर देख्दा मनै काटिएको उल्लेख गरेका छन् ।
'पशुपति परिसरमा पुग्दा मनै काटियो। जात्राको भोलिपल्ट अलिअलि फोहोर जहाँ पनि हुन्छ, तर यी फोटोमा देखिएको स्तरको फोहोर लज्जाजनक थियो। संसारका विभिन्न देशमा मस्जिद जानोस्, गुम्बा जानोस्, चर्च जानोस्, प्राय: सबै अत्यन्त सफा हुन्छ। हिन्दूहरूको मन्दिर जानोस्, अधिकांश ठाऊँमा यस्तै फोहोर हुन्छ। आस्थाको केन्द्र यति विघ्न फोहोर गरेर ‘धर्म’को कुरा गर्न सुहाउँदैन,' मिश्रले फेसबूकमा लेखेका छन्, 'मठमन्दिर कसरी सफा राख्ने भनेर सिक्न टाढा जानु पर्दैन । भारतकै कयौं प्रमूख हिन्दू धार्मिक स्थलहरू अत्यन्तै सफा हुन्छन्। उनीहरूले कसरी व्यवस्थापन गर्दा रहेछन्, त्यत्तिमात्र बुझे पनि पुग्छ।'
उनले पशुपति क्षेत्र विकास कोषलाई सुझाव समेत दिएका छन् ।
'अर्को पटकदेखि फोहोर व्यवस्थापनको विषय शिवरात्रिभन्दा पहिले नै सोच्नुहोस् र योजनाबद्ध रूपबाट काम गर्नुहोस्। धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ,' सुझाव दिँदै मिश्रले लेखेका छन् ।
हेर्नुहोस्, स्टाटस :