
दुई महिनादेखि रोकिएको गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय उडान फेरि शुरू हुने भएको छ ।
सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले खराब मौसमको कारण देखाउँदै पुस ६ गतेबाट बन्द थियो ।
आगामी मार्च ९ गते (फागुन २५) देखि जजिराले पुनः उडान शुरू गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । त्यसका लागि टिकट बुकिङसमेत भइसकेको झाको भनाइ छ ।
गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न शुरू गरे पनि सात महिनापछि रोकेको थियो । उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान शुरू गर्न माग गर्दै आएका थिए ।
विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले मार्चदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सक्ने बताए ।
हाल हुस्सुका कारण अन्तर्राष्ट्रिय उडान नभए पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय बनेको छ । केही दिनअघि भारतीय विदेश सचिव विनय क्वात्रा २ दिने नेपाल भ्रमणमा आएको अवस्थामा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको विषयले प्राथमिकता पाउन सकेन ।
भारतीय नागरिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट दिने व्यवस्था नभएको र इन्स्टुमेन्ट ल्याण्डिङ सिस्टम सञ्चालनमा ल्याउन पनि भारतबाट सहमति लिनुपर्ने हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका हुन् ।
विमानस्थल लक्षित गरेर यहाँ धेरै पर्यटन क्षेत्रमा लगानी भएको छ । विमानस्थलबाट उडान बन्द हुँदा व्यवसायीहरू अहिले निराश छन् । त्रिभुवन विमानस्थलजतिकै गौतमबुद्ध विमानस्थललाई पनि चलायमान बनाउनुपर्ने यहाँको निजी क्षेत्रको माग छ ।