
संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतबारदेखि शुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले कामका लागि आएका सेवाग्राहीलाई अनावश्यक दुख नदिन निर्देशन दिए । मन्त्री मोदीले भने, “सुशासन कायम गर्ने सरकारको प्राथमिकलाई बुझेर कार्य सम्पादनमा लाग्न म राष्ट्र सेवक कर्मचारीलाई विशेष निर्देशन दिन चाहन्छु ।”
कर्मचारीले सेवाग्राहीलाई अनावश्यक रुपमा झुलाउने गरेको गुनासो आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, “अब कार्य सम्पादनमा लाग्न म कर्मचारीलाई आग्रह गर्छु ।” मन्त्री मोदीले सेवाग्राहीको काम नहुने हो भने कारणसहित चित्तबुझ्दो जवाफ दिने परम्पराको थालनी गर्न समेत निर्देशन दिए ।
सेवाग्राहीको काम दू्रत गतिमा गर्ने विषयलाई प्राथमिकतामा राख्न समेत कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मोदीले भने, “जनताको काम कसरी दू्रत गतिमा गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन र दू्रत गतिमा कार्य सम्पादन गर्ने परम्पराको थालनी गर्न म कर्मचारी साथीलाई विशेष निर्देशन दिन चाहन्छु ।”
मन्त्री मोदीले प्रदेश १ चलचित्र क्षेत्रको हबको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । “म चाहन्छु, प्रदेश १ चलचित्र क्षेत्रको हबको रुपमा स्थापित होस्, यहाँका विभिन्न क्षेत्रमा विभिन्न जात जातिको पहिचान झल्किने चलचित्रको छायांकन होस्, यसका लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ” मन्त्री मोदीले भने ।