
फागुन ५ गतेबाट शुरु भएको विराटनगर अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दैगएको छ । महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको आयोजकले जनाएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र सुनसरीका अवलोकनकर्ताको संख्या बढेको छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ भने जुम्लाको मार्सी चामलदेखि दलनका सामानहरु समेत सुपथ मूल्यमा पाइने गरेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्नेगरेको छ ।
पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दाल मात्र नभई कोदोको पिठो, फापरको पिठो उपलब्ध छ । दालमा हाल्ने जुम्लेली जिम्मो पाइने बुढाले बताइन् । उनले भनिन्– ‘पहिलो पटक झापाको बिर्तामोडमा शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आएको छु, यहाँ मैले पश्चिम नेपालको अग्र्यानिक खाद्यवस्तुको स्टल राखेको छु ।’
पछिल्लो समय अग्र्यानिक खाद्यान्नमा आकर्षण बढिरहेका बेला जुम्लाबाट बुढाले ल्याएका खाद्य सामग्री खरिद गर्न उपभोक्ताको भिड नै लाग्ने गरेको छ । बजारमा पाइने मिसावटजन्य खाद्यवस्तुभन्दा महोत्सवमा आफूले राखेको स्टलमा अग्र्यानिक वस्तु पाइने उनले बताइन् ।
महोत्सवमा विभिन्न खाद्यवस्तु, मनोरञ्जनका साधनका साथै सवारीसाधनको समेत सुपथ मूल्यमा खरिद बिक्री भइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
महोत्सवमा सुरक्षा व्यवस्था राम्रो भएकाले ढुक्क भएर अवलोकन गर्न महोत्सव मूल आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आग्रह गरे । हरेक साँझ हुने सांगीतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहने गरेको छ ।