
निर्माण कार्य शुरु भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भए पनि अस्पतालको काम अझै शुरु भएको छैन ।
जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको भए पनि यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका कारण ताराखोला गाउँपालिकाको पाँच शय्याको अस्पताल निर्माण ठेक्का म्याद सकिनै लाग्दासमेत शुरु नभएको हो । भौगोलिक रुपमा दुर्गम गाउँपालिका रहेको ताराखोलामा अस्पताल बनाउन उपयुक्त जग्गा नभएकै कारण अस्पताल निर्माणमा कठिन देखिएको छ ।
आधारभूत अस्पताल निर्माणका लागि वडा २ को सरपान्डीडाँडामा दुई वर्षअघि शिलान्यास भए पनि जग्गा विवाद तथा भौगोलिक जटिलताको कारण देखाउँदै गाउँपालिकाले ठेक्का लगाइसकेको जग्गालाई स्थानान्तरण गरी सोही वडाको कुवाँधुनेखोलामा पु¥याउँदा अस्पताल निर्माणमा निर्माण व्यवसायी र पालिकाबीच समस्या देखिएको थियो ।
शिलान्यासको वर्ष ताराखोलामा बाढी पहिरो गएका कारण उक्त सरपान्डीडाँडामा अस्पताल निर्माण गर्न भौगोलिकरुपमा जोखिम रहेको गाउँपालिकाका प्राविधिकको सल्लाहमा अस्पताल निर्माणको जग्गा स्थानान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए ।
“दुई वर्ष अघिनै जग्गा विवाद तथा भौगोलिक कठिनाइका कारण अस्पतालको जग्गा स्थानान्तरण गरिएको थियो, ठेकेदारले ठेक्का ल्याइसकेपछि काम रोकेर राखेको देखिएको छ, जुन स्थानमा अस्पताल बनाए पनि अस्पतालको डिजाईन एउटै हो, केही लागत थपघट भए पालिकाले निर्णय लिन्छ भन्ने थियो”, उनले भने, “निर्माण व्यवसायीले जग्गा स्थानान्तरणको कारण देखाउँदै भवन निर्माण गर्न आलटाल गर्दै दुई वर्ष बिताए, चैत मसान्तसम्म सम्झौता मिति छ, म्याद सकिएपछि सार्वजनिक खरिद ऐनलाई टेकेर पुनः ठेक्कामा जाने तयारीमा छौँ, अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा चरम ढिलासुस्ती गाउँपालिकालाई मान्य छैन ।”
प्रशासकीय अधिकृत गैरेका अनुसार सार्वजनिक खरिद ऐनमा ठेक्का मिति सम्झौता नसकेसम्म ठेकेदारलाई कारबाहीको काम गर्न नपाइने भएकाले चैत मसान्तभित्र ठेकेदारले काम थाल्ने लिखित सम्झौता नगरे ठेक्का रद्द गर्ने प्रक्रियामा गाउँकार्यपालिका जानेछ ।
पालिकाको आधारभूत अस्पताल समयमै नबन्दा गाउँपालिकाले दिने स्वास्थ्य सेवा प्रभावित बन्दै आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए ।
विसं २०७७ वैशाखमा दुई वर्षमा निर्माण सक्नेगरी गाउँपालिका र एसी कन्ट्रक्सनबीच रु सात करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का म्याद सकिना दुई महिना मात्रै बाँकी रहदा अस्पताल निर्माण शुरु भएको छैन भने निर्माण व्यवसायीले पालिकाको कारण अस्पताल बनाउन नसकेको बताउँदै आएको छ । यता ताराखोला गाउँपालिकाले निर्माण व्यवसायीका कारण काम नभएको जनाएको छ ।
पालिकाले सार्वजनिक खरिद ऐनअनुसार सुविस्थाको आधारमा पुनःठेक्का गर्नेतर्फ जान निर्माण व्यवसायीले समझदारी गर्ने निर्माण व्यवसायीको भनाइ छ । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निर्माण व्यवसायीको तर्फबाट हालसम्म रु ५० लाख खर्च भइसकेको ठेकेदार कम्पनीको दाबी छ । रासस