
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ ।
उबातुबा शहरमा पनि १ बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा २२८ जना घरबारविहीन भएका तथा ३२८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूबारे जानकारी दिएका छैनन् ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती ५ शहरमा आपतकाल घोषणा गरेका छन् । उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् ।
जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा २३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।