
दाङको घोराही र तुलसीपुर जोड्ने ‘फोर लेन’ सडक निर्माण कार्य अलपत्र भएपछि स्थायीय आन्दोलित भएका छन् ।
ठेकेदारको मनोमानीले सडक अलपत्र पारिएको विरोधमा स्थानीयले सोमवार सडक डिभिजन कार्यालय दाङको मूल गेटमा तालाबन्दी, नाराबाजी र धर्ना दिएका छन् ।
उनीहरूले कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा समेत रोक लगाए । नागरिक समाजका संयोजक केवी मसालले सडक निर्माण नहुँदा नागरिकले सास्तीले सीमा नाघेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोक जोड्ने सडक निर्माण अहिले अलपत्र छ ।
सडकमा उड्ने धुलोले नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर पुगेको भन्दै मसालले सडक छिटोभन्दा छिटो नबनाए आफूहरू कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
कार्यक्रममा सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लबको नेतृत्वमा गएको दबाब समूहमा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिक सहभागी थिए । २०७६ असारबाट निर्माण शुरू भएको सडकको जम्मा ७ प्रतिशत मात्र काम भएको छ ।
सम्झौता अनुसार २०७८ वैशाखमा निर्माण सम्पन्न भइसक्नुपर्ने हो । घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक फोर लेन बनाउनुपर्नेमा अहिलेसम्म सडकछेउको जमिन कटान गर्नेबाहेक अरू केही काम हुन सकेको छैन । सडक निर्माणको ठेक्का भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको छ ।