१४ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

राष्ट्रपतिमा माओवादीको अडानले अप्ठ्यारोमा एमाले, निर्णय कुर्दै कांग्रेस

राष्ट्रपतिमा माओवादीको अडानले अप्ठ्यारोमा एमाले, निर्णय कुर्दै कांग्रेस

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समर्थित व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्न नसकिने बताएका छन् । पुस १० पछिको दुई महिनाको सहकार्य त्यति सहज नभएको उनले बताए । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले एमालेको क्याडरलाई राष्ट्रपति स्वीकार गर्न नसकिने बताएका हुन् । ‘एमाले र ओलीजीसँग त्यति सजिलो छैन । ओलीकै मान्छे राष्ट्रपति बनायो भने झन संकटमा परिन्छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले लोकान्तरसँग भने, ‘राष्ट्रपति राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउनु पर्छ भन्ने मेरो बुझाइ छ ।’
माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ भने यसका लागि वार्ता र छलफल गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई नै दिइएको छ । 

राष्ट्रपतिमा निरन्तर दाबी गर्दै आएपनि माओवादीको अडानका कारण एमाले भने समस्यामा परेको छ । 
यता नेपाली कांग्रेस राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई माओवादीले सघाउने विश्वासमा छ । आइतबार रातिको छलफलमा प्रचण्डले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । सोहीअनुसार सोमबार बैठक बसेर पार्टीले राष्ट्रिय सहमति भनेपछि कसलाई समर्थन गर्ने भन्नेमा अनिर्णित बनेको हो । माओवादीले अन्तिम समयमा निर्णय गरेर आफूलाई सघाउने कांग्रेसको विश्वास छ । उसो त प्रचण्डसँग भेटपछि कांग्रेस उत्साहित देखिन्छ ।
००००
जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सुरेन्द्र कर्मीलाई राजनीतिक समितिमा, ओमप्रकाश यादव र सोमबहादर नेपालीलाई केन्द्रीय समितिमा तथा दलबहादुर लावती, कर्णबहादुर लावती र बलराम महतोलाई सङ्घीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप रु सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले एक प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ ।
००००
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय ९४ चालकलाई पक्राउ गरी कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा सिसिटिभीको सहायताले ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार तीन सय १४ चालकलाई पक्राउ गरी कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले  सिसिटिभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा तीन हजार दुई सय ९२ र ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका एक हजार २२ गरी चार हजार तीन सय १४ जनालाई पक्राउ गरी कारबाही गरिएको जानकारी दिए ।
००००
दुई वर्षअगाडि मात्रै यती एयरलाइन्सका ५ वटा जेटस्टीम खरिद गरेर सिम्रिक एयरलाइन्सलाई रिब्रान्डिङ गरी सञ्चालनमा आएको गुण एयरलाइन्स आर्थिक संकटमा फसेको छ ।
कर्मचारीलाई तलब समेत दिन नसकेको गुनासो आएको र त्यससम्बन्धमा अनुगमनपछि अनिश्चितकालका लागि उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
००००
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमवार भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो ।
००००
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाण लोकान्तरले फेला पारेको छ ।

लोकान्तरलाई प्राप्त डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर २ हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् ।
सोमवार दिउँसो पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमतिमा जोड दिए ।
००००
इन्टरनेटमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन भएको छ । 
अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार इन्टरनेटमा समस्या देखिएकाले सर्भर डाउन भएको हो ।
००००
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने गरी उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । सोमवार काठमाडौंको नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोगले न्याय परिषद्को परामर्शमा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको हो ।
००००
सरकारले ठूला सहकारीलाई केन्द्रीय बैंकको दायराभित्र राखेर अनुगमन तथा प्रत्यक्ष निगरानी गर्ने भएको छ ।
प्रतिनिधिसभामा २७ माघमा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ पारित भएपछि ठूला सहकारी राष्ट्र बैंकको निगरानीमा जाने भएका हुन् ।
००००
पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  छोरा डा जया श्रेष्ठले जानकारी दिए ।

 
 

salt training

कमेन्ट गर्नुहोस्