
सर्लाहीमा कर्तव्य ज्यान तथा हातहतियार मुद्दाका तीन जना फरार अभियुक्तले जिल्ला प्रहरी कार्यालय मलगंवामा आत्मसमर्पण गरेका छन् ।
चार वर्षदेखि फरार रहेका ती अभियुक्तले हिजो दिउँसो प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेका हुन् ।
जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–४, का ४४ वर्षीय धर्मेन्द साह, ३७ वर्षीय राजीवकुमार यादव र ५० वर्षीय देवेन्द्र रायले कार्यालयमा आइ आत्मसमर्पण गरेका सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
२०७५ साल कात्तिक १२ गते रामनगर गाउँपालिका–४, बहुअर्वामा दुई पक्षबीच झडप हुँदा ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो भने उनका भतिज तत्कालिन वडाध्यक्ष रामनरेश महतोको खुट्टा भाँचिएको थियो । पछिल्ला दिनमा प्रहरीले फरार अभियुक्तमाथि निगरानी बढाइ धमाधम पक्राउ गर्न थालेपछि बहुअर्वामा चार वर्षअघि भएको सो घटनामा संलग्न अभियुक्त आफै प्रहरीको सम्पर्कमा आएका हुन् ।
त्यसबेला ढुंगामुढा प्रहार गरी दर्जनौं घरका छानोमा हालिएको खपडा समेत फुटाइएको थियो ।
घटनापछि सदरमुकाम मलङ्गवामा आन्दोलन नै चर्काइएको थियो । प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेका तीनै जनालाई पुर्पक्षका लागि कारगार चलानको तयारी भइरहेको प्रहरीले जनाएको छ ।