रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध विफल भएको बताएका छन् ।
संसद्को माथिल्लो सदन फेडरल एसेम्ब्लीलाई मंगलवार सम्बोधन गर्दै पुटिनले पश्चिममाथिको निर्भरता घटाउन अन्तर्राष्ट्रिय भुक्तानीको सुरक्षित प्रणाली विकसित गर्ने बताएका छन् ।
रुसी जनतालाई पीडामा पार्नका लागि पश्चिमले लगाएको प्रतिबन्ध सफल नभएको, उल्टो अन्तर्राष्ट्रिय कारोबारमा रुसी मुद्रा रुबलको शेयर बढेको उनको भनाइ छ ।
पश्चिमले युद्ध भड्काएको आरोप पुटिनले लगाए । युद्धमार्फत अमेरिका र उसका साझेदारहरूले सीमाहीन शक्ति आर्जन गर्न खोजेको उनको दाबी छ ।
युद्धमा सहभागी रुसी सैनिकहरूलाई पुटिनले प्रशंसा गरेका छन् । ती सैनिकको परिवारलाई राज्यले थप सहयोग गर्ने बताएका छन् ।
आजै अमेरिकाका राष्ट्रपति जो बाइडनले पोल्यान्डमा एउटा सम्बोधन गर्ने कार्यक्रम छ । अहिले बाइडनले पुटिनको भाषण ध्यान दिएर सुनिरहेको बताइएको छ ।
बाइडनले सम्बोधनमा लोकतन्त्र तथा निरंकुशताविरुद्ध यो युद्ध भएको बताउनेछन् ।