
भावी राष्ट्रपतिको दौडमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम पछिल्लो केही दिनयता जोडतोडले चर्चामा आउन थालेको छ । १३ फागुनमा मनोनयन भएर २५ फागुनमा हुने राष्ट्रपतिको चुनावका लागि सम्भावित समीकरणबारे अनेक लेखाजोखा शुरू भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रबाट राष्ट्रपति नबन्ने पक्का भएपछि एमालेबाटै फुटेर बनेको नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्न खोजेको चर्चा छ । नेता नेपालले दाङ पुगेर आफू पनि राष्ट्रपतिका लागि दाबेदार रहेको संकेत गरेका छन् ।
‘राष्ट्रपतिमा चाहना राख्नु बैग्लै कुरा हो । म आफूले के गर्ने भन्नेबारे पनि केही सोचिसकेको छैन,’ नेपालले भनेका छन्, ‘हाम्रो पार्टी पनि राष्ट्रपतिबारे टुंगोमा पुगिसकेको छैन ।’
निर्णायक मतभार रहेको माओवादी र राष्ट्रपतिले दाबी गरिरहेको कांग्रेसलाई नैतिक अप्ठ्यारोमा पार्नका लागि ओलीका तर्फबाट नेपाललाई अघि सार्न लागिएको विषयले राजनीतिक माहोल तातेको छ । ओलीले नेपाललाई अघि सार्दा उनको पार्टी एमालेमा बिलय हुनुपर्ने शर्त राखेको बुझिएको छ । तर अंकगणितमा नेपालको पार्टी नेकपा एससँग महत्त्वपूर्ण र निर्णायक मतभार भने छैन । एसको मतभार २४९४ हो ।
आफूलाई विपक्षी दलको रूपमा कांग्रेससँगै उभ्याएको र यसअघिको एमालेविरोधी कित्तामा माओवादीसँगै उभिएकाले रणनीतिकरूपमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भनेर कार्ड खेल्न खोजेका हुन् ।
कसको मत कति ?
राष्ट्रपति चुनावमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । यीमध्ये राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य प्रत्येकको मतभार ७९ हुन्छ ।
प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । कूल मत ५२ हजार ६२८ हुन्छ । यस्तोमा २६ हजार ३१५ मत कटाउने उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् ।
राष्ट्रपति चुनावमा पछिल्लो समय कांग्रेस र माओवादी मिल्ने सम्भावना बढी रहेको चर्चा छ । तर बढी भएर पनि यसैमा सहमति हुन सक्ने अहिलेसम्म कुनै ग्यारेन्टी छैन ।
दुई ठूला दल कांग्रेस र माओवादी राष्ट्रपतिमा मिल्दा अरू दल स्वाभाविक रूपमा यही गठबन्धनमा आउँछन् भन्ने हिसाब कतिपयको छ । तर ओलीले रणनीतिक रूपमा नेपालको नाम अगाडि सारे सम्भावित समीकरणको हिसाबकिताब नै अलग हुनसक्छ ।
राष्ट्रपति चुनावमा कांग्रेससँग १६ हजार २२१ मत छ भने माओवादीसँग ७ हजार ८२४ छ । कांग्रेस र एमालेले राष्ट्रपतिमा दाबेदारी गर्दा झण्डै ८ हजार मत लिएर बसेको माओवादी निर्णायक बन्ने देखिन्छ । तर एमालेले पनि आफ्नो हार्डलाइनर उम्मेदवार राष्ट्रपतिमा नजित्ने अवस्थामा रणनीतिक कदम चाले अर्को गठबन्धन बन्ने सम्भावना पनि उत्तिकै छ ।
एमालेसहित राप्रपाको २ हजार ४५०, रास्वपाको १ हजार ५०१ गर्दा १९ हजार ३११ हुन्छ । यसमा अन्य केही साना दल पनि ओलीकै गठबन्धनमा मिल्ने हो भने कांग्रेस र माओवादीलाई अप्ठ्यारो पार्न सक्ने गरी मत पुग्ने देखिन्छ ।
नेकपा एसको २ हजार ४९४, जसपाको २ हजार १४५, जनमतको १ हजार २४२, लोसपाको १ हजार १९ र नागरिक उन्मुक्ति ८९२ मत छ । यो भनेको ५ दलको ७७९२ मत हो । एमाले, राप्रपा र रास्वपाको मतमा यो थपिने हो भने २७१८२ मत पुग्छ । जुन बहुमतभन्दा बढी हो । तर, अंक गणितमा सम्भव भए पनि व्यावहारिक रूपमा भने यो सम्भव हुन निकै गाह्रो छ ।

राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र सांसदको ८७५ मत छ । स्वतन्त्रबाहेक राष्ट्रिय जनमोर्चाको १५८, नेपाल मजदुर किसान पार्टीको २२३, हाम्रो नेपाली पार्टीको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत रहेको छ । यी मत दुवैतिर बाँडिने सम्भावना उत्तिकै छ ।
एमालेप्रति राप्रपा र रास्वपा यतिखेर धेरै नै उत्तरदायी देखिएका छन् । तर यही गठबन्धनमा नेकपा एस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँगै बस्छन् भन्ने पक्का छैन ।
नेपाल राष्ट्रपतिको उम्मेदवारमा अगाडि सारेर यी साना दललाई मनाउन सक्ने हो भने एमालेले पनि राष्ट्रपति जित्ने गरी बहुमत पुर्याउन सक्छ । तर यो सहजै र व्यवहारिक हिसाबले पनि स्वभाविक गठबन्धन होइन ।
राष्ट्रपतिको सम्भावित समीकरणकै सन्दर्भमा सत्ता साझेदारीमा समेतसहमति जुटाउन सक्ने अवस्था छ । जसले राष्ट्रपति चुनावको आकार नै बदल्न सक्छ । किनकी यी सबै दल एक ठाउँमा उभिँदा सहजै २७५ सीटको बहुमत अर्थात १३८ सीट कटाउने देखिन्छ ।
प्रतिनिधिसभामा ८९ सीट भएको कांग्रेस, ३२ सीट भएको माओवादीविना पनि गठबन्धन बन्ने गणितीय सम्भावना देखिन्छ । एमालेको ७९, रास्वपाको १९, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपा र नागरिक उन्मुक्तिको ४/४ सीट गर्दा १४८ सीट पुग्छ ।
माओवादीसँग सम्बन्ध बिग्रँदै गएपछि ओलीले यो गठबन्धनको प्रयास गर्दै मधेशकेन्द्रित दलसँग पनि संवाद अघि बढाइसकेका छन् । माओवादीले नमान्दा पहिले माधव नेपाललाई अघि सार्ने नभए मधेशकेन्द्रित दललाई हात लिन लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्नेसम्मको तयारीमा ओलीरहेको चर्चा छ ।
महन्थलाई अगाडि सार्दा जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि मान्ने विश्वासमा ओली रहेको उनी निकट स्रोत बताउँछ । ओलीले यो विकल्पका लागि महन्थ ठाकुरसँग वार्ता र आफ्नो उम्मेदवारलाई सहयोगका लागि प्रस्ताव नै गरिसकेका छन् ।
‘ओलीजीले राष्ट्रपति निर्वाचनमा हामीलाई समर्थन गर्नुस् भनेर भन्नुभयो । संख्यात्मकरूपमा कुनै परिणाम दिने हाम्रो संख्या छैन भनेर मैले जवाफ दिएँ । उहाँले होइन, तपाईंसँग जे जति मत छ, त्यति नै भए पनि हाम्रो उम्मेदवारलाई दिनुस् भन्नुभयो,’ लोकान्तरसँगको कुराकानीमा महन्थले भनेका छन् ।
माधव नेपाल कांग्रेस–माओवादीतिरै रहे पनि अरू दललाई समेट्न सक्दा ओलीले १३८ सीट कटाउन सक्ने देखिन्छ । अर्कोतिर कांग्रेस, माओवादी र नेकपा एस मिल्दा पनि १३१ सीट मात्रै हुन्छ, जुन प्रतिनिधिसभाको बहुमत पनि हो । आफ्नो दलको राष्ट्रपति नहुने, माधव नेपालाई माओवादी र कांग्रेसले नमान्ने अवस्थामा ओलीले राष्ट्रपतिमा महन्थलाई अघि सार्ने विकल्पलाई खुल्ला गर्ने सम्भावना धेरै देखिन्छ ।
अहिलेकै सत्ता गठबन्धन कायम रहे झन् सहज
अहिलेको सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, राप्रपा र रास्वपा मिले २७ हजार २१४ भन्दा बढी मत हुनेछ, जुन राष्ट्रपति जित्न पर्याप्त मत हो ।
यसमा नेकपा एसको २४९४ मत थपिँदा गठबन्धन झन् बलियो हुनेछ । कांग्रेसतिरको गठबन्धनमा बहुमत पुग्ने अवस्था नआएमा माओवादी नै अन्तिममा नेपाललाई राष्ट्रपति मान्न तयार हुने समीकरण पनि छ । किनकी अर्को गठबन्धन गरेर हार्ने चुनावमा जान माओवादी आफैं तयार हुनेछैन । यस्तोमा बरु माधव नेपाललाई राष्ट्रपति मानेर जान माओवादी तयार हुने बताइन्छ । तर नेपाललाई माओवादीले राष्ट्रपति मान्न खोज्दा जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले मत नदिन सक्छन् ।
राष्ट्रपतिमा एमाले, माओवादी, रास्वपा, राप्रपा र नेकपा एस एक ठाउँमा उभिने परिस्थिति बने पनि बहुमत पुग्ने देखिन्छ । यी दलको जम्मा मत २९ हजार ६२९ हुन्छ ।
गणितीय सम्भावना अनेक रहे पनि ठूला दल एमाले वा कांग्रेससँग तेस्रो ठूलो दल माओवादी नमिलेसम्म व्यावहारिक रूपमा चुनाव जित्न निकै कठिन देखिन्छ । छरिएका अन्य मत यी तीनमध्ये जतापट्टि दुई दल मिल्छन्, त्यतै जाने र त्यही सत्ता समीकरणमा पनि निर्णायक हुने देखिन्छ ।