२९ असार २०८३, सोमबार

सरसर्ती २४ घण्टा : राष्ट्रपतिमा ओलीले माधव अघि सार्न खोज्दा महन्थको पनि दौडधुप

फागुन १०, २०७९
सरसर्ती २४ घण्टा : राष्ट्रपतिमा ओलीले माधव अघि सार्न खोज्दा महन्थको पनि दौडधुप

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
भावी राष्ट्रपतिको दौडमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम पछिल्लो केही दिनयता जोडतोडले चर्चामा आउन थालेको छ । १३ फागुनमा मनोनयन भएर २५ फागुनमा हुने राष्ट्रपतिको चुनावका लागि सम्भावित समीकरणबारे अनेक लेखाजोखा शुरू भएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रबाट राष्ट्रपति नबन्ने पक्का भएपछि एमालेबाटै फुटेर बनेको नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्न खोजेको चर्चा छ ।
यसैबीच अध्यक्ष माधवकुमार नेपालले भने राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रूपमा लिने बताएका छन्। 

दाङको भालुवाङमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे। ‘अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुंगो लागेको छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।’
००००
राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित राष्ट्रपतिको उम्मेदवार महन्थ ठाकुर पनि हुन सक्ने भन्दै सहयोगका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले विभिन्न राजनीतिक दलहरूसँग छलफल थालेका छन्।
मंगलबार लोसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवारका रूपमा ठाकुरलाई सार्न सहयोग मागेका छन्। बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ताको तयारी छ । 
००००
भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको इन्फेक्सनको मात्रा कम हुँदै गएको छ । 
उपचारमा संलग्न चिकित्सिक डा। अमोल मात्रेकाअनुसार गए राति ८ लिटर प्रेसर मास्कमा उनलाई राखिएको छ । शरीरका पारामिटर सामान्य अवस्थामा छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण तय गरेका छन् । उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनाएका छन् । 
दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको गजुरेलले जानकारी दिए । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ ।
००००
नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हामफालेकी आमासहित तीनै जना मृत अवस्थामा फेला परेका छन्। नवलपरासीको सुस्ता गाउँपालिका२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षिय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हामफालेकी थिइन् । यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
००००
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी  मनाइएको छ । 
नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मंगलबार बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गरेर मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ ।
००००
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो  ।
सबै साम्राज्यवादी शक्तिहरूका हर्कतका विरुद्ध निर्वाचनलाई भण्डाफोरको रूपमा उपयोग गरिने सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
००००
गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
००००
एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को वास्तविक र सिटरोलमा उल्लेख जन्ममिति फरक रहेको पाइएको छ । 
लोकान्तरलाई प्राप्त विवरणअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीका प्रमुख एआईजी दिवेश लोहनी तथा अन्य ७ डीआईजीको जन्ममिति फरक परेको हो ।
००००
कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्यान्डसामु रोमाञ्चक जित निकालेको छ। आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराउन सफल भयो।
००००
धरानमा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ८ जना घाइते भएका छन् । घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिएका छन् ।
 

कमेन्ट गर्नुहोस्