
बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको उपस्थितिमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी नेपाल (जसपा) का शीर्ष नेता सम्मिलित बैठकले नेपालको नाम राष्ट्रपतिको रुपमा अघि सारेको हो ।
बैठकपछि नेताहरुले छलफल जारी रहेको भनेपनि आन्तरिक रुपमा भने माधव नेपाललाई नै अघि सार्ने सहमति जुटेको बैठकपछि एक नेताले लोकान्तरलाई जानकारी दिए । ती नेताका अनुसार माधव कुमार नेपालको नामबारे शुक्रबार कांग्रेस र एमाले दुबैसँग वार्ता गरिनेछ ।
बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिको विषयमा सबैको सबैसँग छलफल चलिरहेको बताएका थिए । ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले नै भइसकेको छैन’, उनले सञ्चारकर्मीलाई भने, ‘तर भोलि एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’ यस्तै कांग्रेससँग समेत शुक्रबार नै थप छलफल हुने प्रचण्डको भनाइ थियो ।
यस्तै नेताहरुले नेकपा ब्युँताउने विषयमा समेत कुराकानी भइरहेको बताएका छन् । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले चुनाव अघिदेखि नै आफूहरुले गठबन्धनको कुरा गरेको भन्दै अझै पनि वाम समाजवादी मोर्चा बनाउन सकिन्छ कि भनेर पहल गरिरहेको बताए । यसैगरी उनले पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन दलहरू तयार भए स्वभाविक रुपमा पार्टीले स्वीकार्ने बताए ।
शनिबार राष्ट्रपतिमा मनोनयन दर्ताको कार्यक्रम रहेकाले शुक्रबारको वार्ता महत्वपूर्ण हुने देखिएको छ । माधव नेपाललाई तीन दलले अगाडि सारेकाले अब हुने सहमतिलाई कौतुहलताका साथ हेरिएको छ ।