०७ असार २०८३, आइतबार

भारतमा के- के भए समझदारी ?

कात्तिक २०, २०७४
भारतमा के- के भए समझदारी ?
काठमाडौं, ९ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने राजकीय भ्रमणको क्रममा नेपाल र भारतबीच आठवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार नयाँ दिल्लीमा दुई देशबीच आपसी सहयोग र विकास निर्माणका विषयसम्बन्धी आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।deuba modi 2

प्रधानमन्त्री देउवा र उनका समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका सम्बन्धित उच्च अधिकारीहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तापश्चात् भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित चार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

त्यस्तै मेची पुल निर्माण, लागूऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रण, गुणस्तर मूल्यांकन र लेखापरीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिहीबार दुई देशबीच भएको समझदारीपत्रअनुसार भूकम्पबाट भत्केका ५० हजार घर पुनर्निर्माणमा भारत सरकारले सहयोग पु¥याउनेछ । त्यस्तै सांस्कृतिक सम्पदाको पुनर्निर्माणसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

भूकम्पले भत्काएका स्वास्थ्य क्षेत्रका भौतिक संरचना पुनर्निर्माणसम्बन्धी समझदारीपत्र र शिक्षा क्षेत्रका संरचना पुनर्निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र भारतको बाह्य मामिला मन्त्रालयका सचिव एस जयशंकरले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै बिहीबार नै मेची पुल निर्माणसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । सो समझदारीअनुसार भारत सरकारले एसियाली राजमार्ग–२ अन्तर्गत नेपाल–भारत जोड्ने मेची नदीमाथिको पुल निर्माण गर्नेछ । यससम्बन्धी समझदारीलाई बुधबार भारतको संघीय मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो , राजधानी दैनिकमा खबर छ ।

समझदरीपत्रअनुसार पुल निर्माणका लागि अनुमानित १ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ एसियाली विकास बैंकबाट ऋण लिएर भारत सरकारले लगानी गर्नेछ । नयाँ बन्ने पुलले नेपालको काकरभिट्टा र भारतको पानीटंकी बाईपासलाई जोड्नेछ । यो परियोजनाअन्तर्गत ६ लेनको ८ सय २५ मिटरसहित १ दशमलव ५ किलोमिटर लामो सडक रहनेछ । मेची पुल एसियाली राजमार्ग–२ अन्तर्गत नेपालतर्फको अन्तिम बिन्दु हो ।

समझदारीपत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको सडक यातायात राजमार्ग सचिव युद्धवीरसिंह मल्लिकले हस्ताक्षर गरेका हुन् । त्यस्तै लागूऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रणसम्बन्धी समझदारीमा नेपालका तर्फबाट गृहसचिव लोकदर्शन रेग्मी र भारतका राजस्व सचिव हसमुख अधियाले हस्ताक्षर गरे । यो समझदारीलाई समेत भारतको संघीय मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदन गरेको थियो ।

त्यस्तै गुणस्तर मूल्यांकनसम्बन्धी समझदारीपत्रमा समेत बिहीबार नै हस्ताक्षर भएको छ । समझदारीपत्रमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतको नापतौल विभागका महानिर्देशक सञ्जय सिंहले हस्ताक्षर गरेका हुन् । लेखापरीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रकाश थापा र भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष निलेस बिकाम्सले हस्ताक्षर गरे ।

salt training

कमेन्ट गर्नुहोस्