
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्।
पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १-अन्डर १ सय ३७ स्कोरसहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे।
भुवनले आज २-ओभर ७१ स्कोर गरे र समग्रमा इभन-पार १ सय ३८ को कार्डसहित दोस्रो स्थानमा झरे।
समग्रमा १-ओभर १ सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्त रुपमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए।
नेपाल नम्बर एक शुक्र बहादुर राईले दल बहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्त रूपमा पाँचौँ स्थान बाँडे।
शुक्रले इभन-पार ६९ र दलले २-ओभर ७१ स्कोर गरे। समग्रमा ५-ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन्। उनले आज १-अन्डर ६८ को स्कोर निकाले। राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५-ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७-ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे। एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन्।
समग्रमा ८-ओभर १ सय ४६ को नतिजामा भुवन कुमार रोक्का, धन बहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्त रूपमा नवौं स्थानमा छन्।
३६ होलको समाप्तिमा १६-ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन्।
प्रोफेसनल खेलाडीहरु दीपक आचार्य, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, नीरज तामाङ, भुबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सबिन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित बिके, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन्।
पहिलो दिन ३-ओभरको प्रदर्शनसहित सातौं स्थानमा रहेका दाबेदार खेलाडी सुवासले दोस्रो दिन लय समाते।
उपाधि रक्षा गर्ने सम्भावनालाई जीवितै राख्ने क्रममा उनले आठौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औं होलको बोगीविरूद्ध चार बर्डी प्रहार गरे। १०औं, १३औं, १५औं र १८औं होलमा एक-एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३२ मा सकाए।
भुवनले तेस्रो र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३६ मा र १०औं होलको बोगीविरूद्ध १४औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पूरा गरे।
रामे मगरले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३५ मा सकाए। उनले दोस्रो, छैटौं, आठौं होलमा एक-एक सट बचाए। चौंथो र नवौं होलमा बोगी खेपे।
यसपछि १४औं र १७औं होलमा बर्डी प्रहार गरेप नि १२औं र १६औं होलमा एक-एक सट खेर फाले।
सञ्जयले फ्रन्ट नाइन इभन-पारमा सकाउने क्रममा पहिलो र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे पनि पाँचौ होलमा डबल बोगीको सामना गरे। यसपछि १०औं र १७औं होलमा बर्डी प्रहार गर्दा १२औं र १६औं होलको बोगीले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए।
५४ होलको प्रतियोगितामा ३१ व्यवसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहने अन्य व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्।
शनिबार हुने प्रोएमसँगै प्रतियोगिता सकिनेछ।