
खानेपानी मन्त्री अब्दुल खानले राष्ट्रपति देशको अनुहार भएकाले आफूहरू राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन्।
जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री खानले शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताए।
उनले भने, ‘राष्ट्रिय सहमतिकै कुरामा हामीले मुख्य रूपमा विश्वास राखेका छौँ अहिलेसम्म । मैले अहिलेसम्म थाहा पाएको छैन, हामीसँग छलफल हुने, कसैले हामीलाई डाकेको र कसैले हामीलाई बोलाएको ठूला पार्टीहरूले मलाई थाहा छैन । कांग्रेस वा एमाले गठबन्धनमा हाम्रो त्यति धेरै चासोको विषय छैन । किनभने हाम्रो राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने पनि कुरा छैन,'
यसबारे अहिलेसम्म ठूला दलले सोच्नुपर्ने उनले बताए। 'हामी त राष्ट्रिय सहमतिकै पक्षमा छौँ । राष्ट्रपति भनेको देशको अनुहार हो । त्यसमा विवाद गर्नु हुँदैन । राष्ट्रपतिमा सहमति गरौँ भन्ने मेरो सोच हो,’ मन्त्री खानले भने।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरूले आफूहरूसँग कुनै छलफल नगरेका पनि उनले बताए।