काठमाडौँ, ९ भदौ- साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणमा रहेका वेला दोस्रो तहका नेताहरू दिनहुँ उम्मेदवारको टुंगो लगाउन बसे पनि निष्कर्षमा पुगेका छैनन् । सभापति भारतबाट फर्किएपछि मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाउने संकेत दिएको छ, नयाँ पत्रिकामा खबर छ । कांग्रेसले आफ्नो पकड कम भएका पूर्व–पश्चिम राजमार्गआसपासका २० वटा तहमा तालमेल गर्ने तयारी गरेको छ ।

एमालेले प्रदेश नंं. २ को निर्वाचनलाई लक्षित गर्दै सत्तापक्ष कांग्रेस र माओवादी केन्द्रको हठका कारण संविधान संशोधन विधेयक असफल भएको प्रचार गर्ने भएको छ । सत्तापक्षले नियोजित रूपमा विधेयकलाई असफल बनाएर एमालेलाई संशोधनविरोधीका देखाउने ‘चुनावी दाउपेच’ गरेको निष्कर्ष एमालेले निकालेको छ । एमालेले निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने रणनीति अख्तियार गरेको छ ।
यस्तै प्रदेश नं. २ का १ सय ३६ तहमध्ये कम्तीमा ६५ देखि ७० स्थानमा प्रमुख जित्ने एमालेको लक्ष्य छ । प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलले मधेसको विकासमा खेलेको भूमिकाका कारण पहिलो बन्ने दाबी गरे ।
माओवादी केन्द्रले प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार अर्को हप्तासम्म टुंग्याउने भएको छ । उम्मेदवार चयन गरेर मैदानमा होमिने माओवादी केन्द्र प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए ।
राजपाको केन्द्रीय नीति एक्लै निर्वाचन लड्ने भन्ने छ । तर, स्थानीय पार्टीको अनुकूलताका आधारमा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गर्न सक्नेछ । सुरुमा फोरम र लोकतान्त्रिक फोरमसँग तालमेल नगर्ने बताएको राजपाले स्थानीय नेताहरूको ब्रिफिङपछि उनीहरूसँग पनि तालमेल गर्ने रणनीति बनाएको हो । सप्तरीमा यी दुई पार्टीसँग तालमेल गर्नेबारे राजपाका स्थानीय नेताहरूबीच छलफल पनि सुरु भइसकेको छ ।