
तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रवार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ ।
आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएका छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।
तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये ९ घरमा मानिस बस्दै आएका र ५ घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट ९ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आउनुभएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आउनुभएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शंखर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । तमोर नदी किनारको जंगलबाट शुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा क्षति भएको छ ।
अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जंगलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्ती समेत जोखिममा छन् ।