
नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा शनिवार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
'सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाइ, जितिन्छ,' योगेशले फेसबूकमा लेखेका छन् ।
सत्ता सहयात्री नेकपा (माओवादी केन्द्र)सहित ८ दलले कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने सहमति गरिसकेका बेला एमालेका तर्फबाट नेम्वाङ उम्मेदवार बन्ने भएका हुन् ।
उनलाई आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि समर्थन रहने सम्भावना छ ।
संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विकसित नयाँ परिस्थितिमा आफ्नो 'लाइन क्लियर' गर्न बाँकी छ ।