
कात्तिकको दोस्रो हप्ता प्रदर्शनमा आएको ‘महापुरुष’पछि थुप्रै नेपाली फिल्महरू प्रदर्शनमा आए । यद्यपि स्टार भनिएका कलाकारहरूका फिल्मले समेत हलसम्म दर्शक तान्न सकेनन् ।
‘लाखे’, ‘चोर पुलिस’, ‘मिलन’, ‘पासो’, ‘डेसान’, ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’, ‘तिम्रो मेरो साथ’, ‘जीवनसाथी’, ‘ह्यारीकी प्यारी’, ‘मनसँग मन’, ‘आँधी तूफान २’ लगायतका ‘महापुरुष’पछि प्रदर्शनमा आएका फिल्महरू लगातार असफल सावित भए । केही फिल्मले एकाध शोमा दर्शक ताने पनि अधिकांश फिल्ममा दर्शकको खडेरी नै देखियो ।
यतिबेला लामो समयपछि हलमा नेपाली फिल्म हेर्न दर्शकहरूको एक खालको चहलपहल देखिएको छ ।
अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ले हलमा चहलपहल बढाएको छ । हल सञ्चालकहरू ‘फूलबारी’मा देखिएको दर्शकको उपस्थितिलाई ‘महापुरुष’पछिको चहलपहलका रूपमा व्याख्या गर्छन् ।
प्रदर्शनको पहिलो दिन मध्यम व्यापार गरेको फिल्मको व्यापार दोस्रो हप्तामा पनि स्थिर छ । हिजो शुक्रवार कुनै नेपाली फिल्म रिलिज नहुनुको फाइदा पनि ‘फूलबारी’लाई मिलेको छ । फिल्मले दोस्रो हप्तामा पनि उत्साहजनक शोज पाएको छ ।
वितरक गोविन्द शाही फिल्मको व्यापार राम्रो रहेको दाबी गर्छन् । ‘फिल्मको व्यापार एकदमै राम्रो छ । अहिलेसम्म पनि कतिपय शोहरू हाउसफुल छन्,’ शाहीले लोकान्तरसँग भने, ‘अघिल्लो हप्ताभन्दा दोस्रो हप्तामा फिल्मले शो पनि बढी पाएको छ ।’
‘वर्ड अफ माउथ’ बलियो रहेका कारण पहिलो हप्ताभन्दा दोस्रो हप्ताको व्यापार अझ राम्रो हुने विश्वास रहेको वितरक शाही बताउँछन् ।
निर्माण टीमले फिल्मको बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक गरेको छैन ।
फिल्मका निर्माता मनिष ढकालले दर्शकहरूबाट एकदमै राम्रो प्रतिक्रिया आएको बताए पनि कलेक्सन भने खुलाउन चाहेनन् । ‘दर्शकहरूबाट सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘कलेक्सन रिपोर्ट आइतवार मात्रै सार्वजनिक गर्ने भनेका छौं ।’

‘फिल्मले चहलपहल बढाएको हो, अपेक्षा गरेजस्तो भने होइन’
‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित, विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की लगायतका स्टार कलाकारहरूको अभिनय रहेका कारण ‘फूलबारी’प्रति अपेक्षा उच्च थियो । हल सञ्चालकहरूले पनि फिल्मलाई लिएर उच्च अपेक्षा राखेका थिए ।
यद्यपि ‘फूलबारी’ फिल्मले हलमा एक किसिमको चहलपहल बढाए पनि अपेक्षा गरेअनुसार नचलेको हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए ।
‘नेपाली फिल्मको सन्दर्भमा कुरा गर्दा ‘महापुरुष’पछि अलि बढी चहलपहल भएको ‘फूलबारी’मा हो, यसलाई राम्रो मान्नुपर्छ,’ न्यूरोडस्थित ‘रञ्जना सिनेप्लेक्स’ र कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’का सञ्चालक समेत रहेका महर्जनले भने, ‘यद्यपि अपेक्षा गरेअनुसार चलेको भने होइन ।’ मोफसलमा भन्दा उपत्यकाभित्रका हलमा दर्शकको उपस्थिति बढी भएको समेत उनले बताए । उनले पनि फिल्म हेर्न दर्शकको उपस्थिति दोस्रो हप्तामा पनि एकैनासले कायम रहने विश्वास व्यक्त गरे ।
‘आगामी शुक्रवार नेपाली फिल्म क्षेत्रको लागि दशैं भइहाल्यो नि !’
हिजो शुक्रवार कुनै नेपाली फिल्म प्रदर्शनमा नआए पनि आगामी शुक्रवार नेपाली फिल्ममा वर्षकै ठूलो प्रतिस्पर्धा हुँदैछ । फागुन १९ गतेबाट वर्षकै प्रतिक्षितमध्येका २ नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी अभिनित ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आउन लागेका हुन् ।
‘छक्का पञ्जा’ आफैंमा ब्राण्ड नाम हो भने अनमोल केसी युवापुस्तामाझ लोभलाग्दो स्टारडम बनाएका अभिनेता हुन् । दुवै फिल्मको प्रचार सामग्रीले यतिबेला दर्शकमाझ राम्रो हाइप बनाइरहेका छन् ।
यी २ फिल्मको रिलिजलाई यसवर्षकै सर्वाधिक ठूलो प्रतिस्पर्धाका रूपमा हेरिएको छ । दुवै फिल्मले हलमा दर्शकको बाक्लो भीड लगाउने र आक्रामक ओपनिङ गर्ने अपेक्षा हल सञ्चालकको छ ।
त्यसैले पनि होला चलचित्र संघका महासचिव महर्जनले ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ रिलिजको दिनलाई नेपाली फिल्म क्षेत्रको दशैं भन्छन् । ‘१९ गते त फिल्म क्षेत्रको दशैं भइहाल्यो नि !’ उनले लोकान्तरसँग भने, ‘२ वटै फिल्मले राम्रो व्यापार गर्ने विश्वास छ ।’