
नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेपछि नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा एवं जनताको उन्नतिको रेखदेखप्रति आफू सचेत रहेको बताएका छन् ।
८ दलको समर्थनपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाएपछि पौडेलले संविधानको संरक्षणको भूमिकामा आफू बलियो भएर उभिने बताएका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा प्रथम चरणमा कांग्रेसबाट प्रेरणा पाएको छ । अहिलेको परिस्थितिमा नेपालको संविधालने नेपाली जनतमा अभूतपूर्व, अद्वतीय अधिकार सबै जनतलाई प्रदान गरेको छ । यसको रक्षा गर्नुपनें चुनाती आएको छ,’ उम्मेदवार बनेपछि पहिलो प्रतिक्रिया दिँदै पौडेलले भने, ‘संविधानको संरक्षण, राष्ट्रियताका सम्बद्र्धन, नेपाली जनताको उन्नतिको रेखदेख अभिभारा र जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति सचेत छु ।’
सबै मिलेर मात्र प्राप्त उपलब्धि जोगाउन सकिने पौडेलले बताए । ‘म सबै नेपाली जनता र दाजुभाई दिदीबहिनीलाई आग्रह अनुरोध गर्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौं । संविधानको रक्षा गरौं । ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको टुंगो लगाउन हामी सफल भएका छौं,’ उनले भने, ‘यसको महत्त्व ज्यादै ठूलो छ । यसमाथि खेलवाड गर्नु स्वार्थको विषय हुन् । यसप्रति हामी सबै सचेत भएर अगाडि बढ्नुपर्छ ।’
सबै पार्टीले आफूमाथि सद्भाव र अपार सहानुभूति राखेको पनि पौडेलले बताएका छन् ।
पौडेलले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।