
नेपाली कांग्रेसका नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्।
शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको बताए।
राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने उनको भनाइ थियो।
उनले आफू सर्वसम्मत तवरले राष्ट्रपति हुन चाहेको पनि बताए। उनले भने, 'एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’
उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताए।
पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।