
शनिवार राति बुटवलको मिलन चोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ ।
करीब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताल लाइनतर्फ गईरहेका हितंगा सवार लु८प ९०६८ नम्बरको मोटरसाइकल र अस्पताल लाइन तर्फबाट मिलन चोकतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश०७–०२–००१ ख १२२६ नम्बरको यात्रुबाहक बस बसपार्क नजिकै एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ ।
लामो समयदेखि टेलिभिजन भिडियो छायांकनको काम गरेका हितंगा पछिल्लो समय एनटीभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददताको रूपमा कार्यरत थिए ।
पाल्पाको तानसेन नगरपालिकाका स्थायी वासिन्दा हितंगा करीब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।