३० जेठ २०८३, शनिबार

निर्माण सामग्री ढुवानी समस्याले अस्पताल भवन अलपत्र

फागुन १५, २०७९
निर्माण सामग्री ढुवानी समस्याले अस्पताल भवन अलपत्र

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । 

निर्माण सकिनुपर्ने समयमा एक चौथाइ मात्र निर्माण भएको छ । भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता नभएको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गरे ।

भवन बनाउन लागि विसं २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार तीन सय ३४ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । 

पाँच शय्या क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए । 

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको वडाध्यक्ष अशोक खत्रीले बताए। 

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ ।  हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको अस्पताल भवनको २०८० जेठसम्म म्याद थपिएको धौलागिरि गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार, निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत रु ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।रासस

salt training

कमेन्ट गर्नुहोस्