२४ असार २०८३, बुधबार

चीनको रिसर्च ल्याबबाट कोभिड भाइरस फैलिएको अमेरिकाको ऊर्जा मन्त्रालयको दाबी

फागुन १५, २०७९
चीनको रिसर्च ल्याबबाट कोभिड भाइरस फैलिएको अमेरिकाको ऊर्जा मन्त्रालयको दाबी

अमेरिकाको ऊर्जा मन्त्रालयले यसअघिको निष्कर्षलाई उल्ट्याउँदै कोभिड–१९ भाइरस चीनको रिसर्च ल्याबबाट फैलिएको हुने प्रबल सम्भावना रहेको बताएको छ । 

डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले सन् २०२१ मा तयार पारेको दस्तावेजलाई नयाँ अनुसन्धानको आधारमा अद्यावधिक गर्दै यो निष्कर्ष निकालिएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ । अद्यावधिक गरिएको दस्तावेज हालैका दिनमा अमेरिकी सांसदहरूसमक्ष पेश गरिएको थियो । 

यसअघि एफबीआईले पनि कोभिड भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हुन सक्ने बताएको थियो । 

तर अमेरिकाका अन्य एजेन्सीहरू अझैसम्म पनि भाइरस प्रयोगशाला नजिक रहेको एक मासु बजारमा पशुमार्फत फैलिएको भन्ने दाबीलाई अंगीकार गरिरहेका छन् । सीआईएले यस विषयमा अन्तिम निष्कर्ष सार्वजनिक गर्न बाँकी छ । 

ऊर्जा मन्त्रालयले आफ्नो निष्कर्ष बदल्नु महत्त्वपूर्ण छ किनकि उक्त निकायले विदेशमा रहेका अमेरिकी प्रयोगशालाहरूको सुपरिवेक्षण गर्ने गरेको छ । तीमध्ये कतिपय प्रयोगशालाले जैविक अनुसन्धान गर्ने गरेका छन् । 

तर ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले यस विषयमा कुनै ठोस उत्तर अझैसम्म पनि नपाइएको बताएका छन् । 

चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदै गएको बेलामा अमेरिकाको ऊर्जा मन्त्रालयको निष्कर्षले आगोमा घ्यू थप्ने काम गर्ने विश्लेषकहरू बताउँछन् । 


 

salt training

कमेन्ट गर्नुहोस्