भारतबाट पलायन भई युनाइटेड स्टेट्स अफ कैलाश नामक देश बनाएका धर्मगुरु नित्यानन्दका एक प्रतिनिधि संयुक्त राष्ट्रसंघको बैठकमा सहभागी भएका छन् ।
भारतले नित्यानन्दलाई उत्पीडन गरेको आरोप ती प्रतिनिधिले लगाएका छन् ।
आफूलाई भगवान् भन्ने नित्यानन्द विगत तीन वर्षदेखि गुजरात प्रहरीबाट भागिरहेका छन् । सन् २०१९ मा बेंगलुरुको एक दम्पतीले नित्यानन्दको आश्रम तथा त्यहाँका सञ्चालिकाविरुद्ध प्रहरीसमक्ष जाहेरी दिँदै छोरीहरूको अपहरण गरेको तथा शरीरबन्धक बनाएको आरोप लगाएको थियो ।
अहमदाबाद प्रहरीले अनुसन्धान गर्दा नित्यानन्दका कर्मचारीहरूले दुई बालिकालाई विदेश पठाएको पाइयो ।
नित्यानन्दको आश्रम डीपीएस स्कूलले लीजमा दिएको जमीनमा बनाइएको पाइयो । लामो अनुसन्धानपछि प्रहरीले नित्यानन्दलाई फरार घोषणा गरेको थियो ।
बेंगलुरुको दम्पतीका दुई छोरीहरू नित्यानन्दको कब्जामा रहेको बताइएको छ । छोरीहरूलाई फिर्ता लिनका लागि दम्पतीले कोशिश गरिरहेको भए पनि सफलता पाएको छैन ।
गुजरात प्रहरीले यस प्रकरणमा नित्यानन्दको खोजी गरिरहेको हो ।