
निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम शुरू गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन्।
४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम शुरू गर्ने बेलामा भने आफूले मन्त्रालयबाट विदा लिनु परेको उनले गुनासो गरे।
स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा गिरीले मन्त्रीका रूपमा आफूले बेथिति रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे।
उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या रहेका भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए।
निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि विमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्याउनुपर्ने उनको सुझाव थियो ।
निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे।
उनले स्वास्थ्य सामग्रीको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको बताए।
निवर्तमानमन्त्री गिरीले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्याएका स्वास्थ्य क्षेत्र हेर्ने पत्रकारहरूलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताए।
त्यस अवसरमा उनले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि आफूले सांसदको रूपमा सरकारको ध्यानाकर्षण गराउने भन्दै त्यसका लागि सुझाव दिन पत्रकारलाई आग्रह गरे।